युवामन्त्री रवीन्द्रको सन्यासी रुप !

तत्कालीन एमाले, हाल नेकपाका युवा नेता रवीन्द्र अधिकारी एक ‘होनहार’ र ‘आसालाग्दा’ युवा नेताका रुपमा चित्रित व्यक्तित्व हुन् । उनले बोल्ने, गर्ने र लाउनेखाने विषयले समेत उनका युवा अनुयायीलाई कहीँ न कहीँ प्रभाव पारेको हुन्थ्यो । जसरी एक तप्काले काँग्रेसका युवा नेता गगन थापाको भाषणबाटै भए पनि स्वाद लिइरहेको हुन्छ । अझ रवीन्द्र अधिकारीले मन्त्री बनेलगत्तै सोसल मिडियामा उठाइएका विषयलाई समेत सम्बोधन गर्ने प्रयास गरेर आफूलाई एक जिम्मेवार मन्त्रीका रुपमा स्थापित गर्ने कोसिस पनि गरे ।

जब वाइडबडी प्रकरणको कुरा बाहिरियो उनले यसको छानविन गर्ने नाममा कर्मचारीहरुको एक समिति बनाए । औपचारिकता पुरा गरे । आफ्नो पालामा कुनै भुक्तानी नभएको सार्वजनिक रुपमा भन्दै आएका मन्त्री अधिकारीले वाइडबडी खरिद प्रक्रिया कानुनसम्मत नभएको भनेर महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदनले भन्दा भन्दै उनले अन्तिम किस्ता भुक्तानी गर्न आदेश दिए ।

नेपाल वायुसेवा निगमले खरित गरेको वाइडबडी एयरबस प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले तयार पारेको प्रतिवेदनमा निगमकमा महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी र पर्यटन मन्त्रालयका वहालवाला मन्त्री रवीन्द्र अधिकारी, पूर्व मन्त्रीद्वय जितेन्द्रनारायण देव र जीवनबहादुर शाहीलगायत सचिवहरु नर्जनबढीलाई कारबाहीको सिफारिस गरेको छ ।

यतिबेला रवीन्द्रले कात्तिकको अन्तिम सातातिर बोलेको वाक्यांस स्मरण गर्नु मनासिव होला । भनेका थिए–‘वाइडबडी प्रकरणमा मेरो कहीँ कतै संलग्नता देखिएमा म कहिल्यै राजनीति नगर्ने गरी सन्यास लिन्छु । तोकेको सजाय भोग्न तयार छु ।’ मंगलबारको प्रतिवेदनले उनको मनसाय बदनियतपूर्ण देखिएको र अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिएको देखाएको छ । उनलाई कडा कारवाहीको सिफारिस समेत गरिएको छ । अब रवीन्द्रको ‘उच्च नैनिकता’ के होला ? उनी सन्यासी बनेर हिँडेको देख्न पाइएला वा शक्तिकेन्द्र प्रयोग गरेर घटना ढाकछोपको कसरतमा लाग्लान ? त्यो समयले पुष्टि गर्नेछ ।

प्रधानमन्त्री होलीले जनताप्रतिको वफादारिता देखाएर उच्च नैतिकताका साथ कारवाही गर्न सम्बन्धित निकायलाई सघाउलान कि यो घटना पनि ३३ किलो सुन काण्ड, निर्मला हत्या प्रकरणजस्तै दिक्क लाग्दो बनाएर ओली सरकारले आफ्नो कुरुपता प्रदर्शन गर्ला ? त्यो पनि समयले प्रस्ट पार्नेछ ।