काबुलमा तीनवटा कारलाई लक्षित गरी विस्फोट, कम्तिमा पाँच जनाको मृत्यु

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीनओटा कारलाई लक्षित गर्दै बम विस्फोट गराइएको छ। तीनओटा विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्य भएको छ।

मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण छन्। यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएको काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ।

विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो। पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ः०० बजे भएको हो। दोस्रो विस्फोट त्यसको १५ मिनेट पछि भएको थियो, भने तेस्रो विस्फोटन शनिबार बिहान १०ः२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले अन्तर्राष्ट्रिय समाचार माध्यमलाई जनाएका छन्।

घटनाको अनुसन्धानका लागि अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ।