म्यानमारमा सैनिक ‘कू’वरुद्धको आन्दोलन उग्र बन्दै, दुई जनाको मृत्यु, ३० घाइते

एजेन्सी। म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्मीले आन्दोलनकारीमाथि चलाएको गोली लागेर कम्तीमा दुई जनाको मृत्यु भएको छ।

म्यानमारको संकट व्यवस्थापन अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्।

‘आक्रोशित प्रदर्शनकारीको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको सो घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्’, मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने।

घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताए। मृतकमध्ये एक जना किशोर रहेको र उनको टाउकोमा गोली लागेको ओओले बताए। एक अर्का स्वयम्सेवी उद्धारकर्ताले पनि मृत्यु भएकाको सङ्ख्या दुई पुगेको पुष्टि गरे।

म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’मार्फत् हटाएर सत्ता सेनाले आफ्नो हातमा लिएको छ। त्यसयता राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय समुदायबाट पनि सैन्य कूको विरोध हुँदै आएको छ।