कोरोनाविरुद्धको १० लाख डोज खोप आज आउँदै

काठमाडौं। भारतले गत माघ ८ मा दिएको अनुदानपछि नेपालले खरिद गरेको कारोनाविरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आज नेपाल आइपुग्ने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नयाँ दिल्लीबाट एयर इन्डियाको विमानमार्फत दिउँसो काठमाडौं आइपुग्ने बताए।

उनका अनुसार फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप खरिद गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार आज १० लाख डोज खोप आउन थालेको हो।

माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराए खोप अहिले अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ। मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ।

उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ। खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए।