कांग्रेस भन्छ : अदालतको निर्णय स्वीकार छ, रामचन्द्र पौडेल भन्छन् : प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिनिधि सभा विघटन सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले अदालतको निर्णय स्वीकार हुने बताइरहे पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशलाई दुर्घटना हुनबाट जोगाउन प्रतिनिधिसभा तत्काल पुनःस्थापना हुनुपर्ने बताएका हुन्।

मधेश यात्रामा निस्किएका नेता पौडेलले विघटन गरिएको प्रतिनिधिसभाको विरोधमा कांग्रेसले पनि आन्दोलन गरिरहेको बताउँदै लोकतन्त्र र गणतन्त्र रक्षा गर्नका लागि प्रतिनिधिसभा पुनःस्थापना जरुरी रहेको दाबी गरे। प्रतिनिधिसभा विघटनबारे संविधानको धारामा रहेर नै अदालतले फैसल गर्ने उनको विश्वास छ।

‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतले विचार गरिइरहेकाले कांग्रेसले अहिले ठूलो आन्दोलन नगरेको हो। भ्रममा नरहँदा हुन्छ’, उनले भने, ‘संविधानमा जे छ अदालतले पनि त्यही गर्छ, जतिसुकै सेटिङ गरे पनि अदालतले संविधानबाहिर गएर फैसला गर्न सक्दैन।’

नेता पौडेलले आन्दोलनमा मधेशका नेताहरूको ठूलो योगदान रहेको बताउँदै ती नेताहरूको सम्मान र ऐतिहासिक ठाउँहरूको भ्रमणका लागि आफू मधेश यात्रामा निस्केको जानकारी दिए।