एउटै घरमा सुतेका ससुरा, बुहारी र नातिनी मृत भेटिए

गोरखा। एउटै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिएका छन्।

बारापाक सुलिकोट गाउँपालिका १ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

उनका अनुसार मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन्।

आज बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि सँगैको छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वको टोली घटनास्थलतर्फ गएको उपरीक्षक गुरुङले जानकारी दिए। थप अनुसन्धान नगरेसम्म घटनाका बारेमा थप केही बताउन नसक्ने उनको भनाइ छ।