मिस इको इन्टरनेशनलमा सहभागी हुँदै अनुश्मा

काठमाडौं । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन्।

मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले सो प्रतियोगितामा नेपाली प्रतिनिधिको रुपमा रायमाझीलाई पठाउन लागेको हो।

१८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने सो प्रतियोगिताका लागि रायमाझी ‘मिस इको इन्टरनेशनल नेपाल ०२०’को बिजेता भएपछि छानिएकी हुन्।

६० भन्दा बढी देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगिताका लागि रायमाझी नेपालबाट एक्लो सहभागि हुनेछिन्।

२१ बर्षीय रायमाझी प्रतियोगिताका लागि मार्चको पहिलो साता इजिप्ट उड्ने तयारिमा छिन्। कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको प्रतियोगितामा आफूले प्रचार गर्ने उनले बताइन्।

मिस इको इन्टरनेशनलको रायमाझी नेपालको छैठौं सहभागी हुन्। यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचन, मौनता लामा सहभागि भएका थिए।

‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तराष्ट्रिय सुन्दरी प्रतियोगिता हो। जसको एलटीसिपि अर्गनाईजेशनले ‘ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो।

यसको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ।