प्रतिनिधिसभा पुनःस्थापना भए तमासाको राजनीति सुरु हुन्छः प्रधानमन्त्री

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागवण्डा र तमासाको राजनीति सुरु हुने बताए।

बेदकोट नगरपालिका २ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताए। मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उनको भनाइ थियो।

‘देश बनाउन लोकतान्त्रिक आन्दोलन चलिरहन्छ’, उनले भने, ‘समग्र राष्ट्र परिवर्तनको आन्दोलन भएकाले सफलताका साथ अगाडि बढ्छ।’ आफूले अदालतलाई धम्की नदिएको स्पष्ट गर्दै उनले न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास रहेको उल्लेख गरे।

अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, आवास भएको उल्लेख गर्दै उनले शहरका बालबालिकाले झै गाउँका बालबालिकाले गाउँमै कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर शिक्षा आर्जन गर्ने बताए। पश्चिम सेती राष्ट्रकै गौरवको योजना भएकाले प्रयाप्त विद्युत् उत्पादन गरी सुदूरपश्चिमको उद्योगमा विद्युत् आपूर्तिमा सहज हुने उनले जनाए।

उनले भागरथी भट्ट हत्याकाण्डमा केही तत्वले राजनीति गर्न खोजे पनि सफल नभएको बताए। भने, ‘अपराधीलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरेको छ। म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु।’ प्रम ओलीले जनतालाई समस्यामुक्त गर्न सके मात्र देशको विकास निर्माणको काम अगाडि बढ्ने बताए।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लडाकू व्यवस्थापनका क्रममा क्यान्टोनमेन्टमा ठूलो भ्रष्टाचार गरिएको उल्लेख गर्दै तत्कालीन पार्टीमा अमिक शेरचनको नेतृत्वमा बुझाइएको प्रतिवेदन दबाइएको बताए।

लडाकूका बीचमा त्यो प्रतिवेदन नजाओस् भनेर च्यातिएको उनले जानकारी दिनुभयो । उनले औद्यागिक क्षेत्र बनाउने प्रक्रिया सुदूरपश्चिमबाट गरिएको उल्लेख पनि जानकारी दिए।

वन तथा वातावरणमन्त्री प्रेम आलेले महाकाली करिडोरको कार्य अगाडि बढाउन सरकारले ९३ करोड रकम विनियोजन गरेको बताए। वनका कारण अड्किएको करिडोरको कार्य पूरा गर्नका लागि मन्त्रिपरिषद्को बैठकमा लगेर निर्णय गरी समाधान गरिने उनले जानकारी गराए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितको वर्षौदेखिको समस्या समाधान गर्नका लागि शक्तिशाली आयोग गठन गरिने उनले बताए।