० धर्मानन्द भट्ट
लडियो यो देशमा लोकतन्त्र आउनु पर्छ भनेर
सामन्त दलालहरूलाई अब धपाउनु पर्छ भनेर
अचेल लाग्दै छ कस्तो भुल गरिएछ जिन्दगीमा,
यहाँ देखिन्छन सबै लागेका कमाउनु पर्छ भनेर
मित्रहरूले हेर्न छोडेको धेरै भयो तसर्थ भन्दैछु,
दुस्मनलाई देखाउन पनि मुस्कुराउनु पर्छ भनेर
विवेकले जता डोर्याउँछ त्यतै जाने मान्छे हूँ म,
साथीहरू लागेका छन अब फकाउनु पर्छ भनेर
त्यही मान्छे डिस्कोबाट निस्किदै गरेको भेटियो,
जो सिकाउथ्यो क्रान्तिका गीत गाउनु पर्छ भनेर