सामान्य नहुन सक्छ टाउकाको चोटपटक

० ओम बानियाँ

टाउकाको चोटपटक गम्भिर तथा आकस्मिक स्वास्थ्य समस्या हो । अग्लो ठाउँबाट खसेर, पल्टिर तथा ठोकिएर, कडा वा धारिलो हतियारले लागेर तथा सडक दुर्घटनामा परेर टाउकामा चोटपटक लाग्ने गर्छ।

तर टाउकाको चोटपटकको एक प्रमुख कारण सवारी दुर्घटना हो। एक अध्ययनका अनुसार नेपालमा ४५ प्रतिशत मस्तिष्क आघात (सेरेब्रम ट्राउमा) सवारी दुर्घटनाका कारण हुने गर्छ।

शिरको चोटपटकका सम्बन्धमा जनसाधारणलाई निकै कम ज्ञान छ। सामान्यतया आममानिसले टाउकोमा चोटपटक लागेर रगत बगेको छ भने त्यसलाई गम्भिर रुपमा लिन्छन् तर टाउकोबाट रगत आएको छैन भने टाउकोमाथि परेको जोडको आघातलाई पनि सामान्य रुपमा लिने गर्छन्।

तर शिरको यस्तो चोटले पछि मानिसलाई जटिल समस्यामा पार्न सक्दछ, पक्षघात नै बनाउन सक्दछ।

त्यसैले शिरको चोटपटकलाई सामान्य रुपमा लिनु हँदैन र शिरमा चोटपटक लागेको खण्डमा तुरुन्त विशेषज्ञ सल्लाह लिनु उचित हुन्छ ।

गाउँघरको डिस्पेन्सरिमा देखाउने तथा जुन पायो त्यही सीटी स्क्यान सेन्टरमा सीटी स्क्यान गराउँदा पछि धोका हुन सक्दछ।

मानिस पक्षघात तथा एम्निेसिया जस्ता समस्याहरुको शिकार भई छिट्टै ज्यान जान सक्दछ।

रुपन्देहीका जीवन (नाम परिर्वन), २८ वर्षीय युवा हुन। माइक्रोबसको छतबाट खसेपछि उनलाई उपचारका लागि नजिकै एक सानो हस्पिटलमा पुर्याइयो।

एक्सरे गर्दा उनको खुटटा भाँचिएको देखियो। टाउकोमा कुनै बाहिर चोटपटक थिएन। चिकित्सकले टाउकाको सीटी स्क्यान गर्न आवश्यक नभएको बताए पनि घाइतेका आफन्तको करले गाडीवाला सीटी स्क्यान गराउन तयार भयो र उनलाई सीटी स्क्यानका लागि एक प्राइभेट सीटी स्क्यान सेन्टरमा लगियो। सीटी स्क्यानको रिर्पोट समान्य देखियो।

उनको खुट्टाको प्लस्टर भयो र औषधि लिएर उनी घर फर्किए। तर केही दिनपछि उनको बायाँ शरीर नै चल्न छोड्यो।

उनको सम्झना शक्ति पनि घट्न थाल्यो। त्यो स्थिति देखिएपछि उनका आफन्तले उनलाई काठमाडौं लिएर गए। पुनः उनको टाउकाको सीटी स्क्यान तथा एमआरआई भयो।

उनको टाउकोमा रगत जमेको रिर्पोट आयो। उनको टाउको अप्रेसन गर्नुपर्ने भयो। तुरुन्त अप्रशेन भयो। औषधि र फिजोथेरापीबाट उनी सामान्य अवस्थामा फर्किए।

तर उनले समयमै विशेषज्ञसँग सम्र्पक गरेको भए अप्रेशन गर्नु पर्ने अवस्था नआउन सक्थ्यो।

मोटरसाइकल, मोटर तथा कार आदिबाट दुर्घटनाग्रस्त व्यक्तिहरुमा सेरेब्रल आघात बढी देखिन्छ। त्यसो त रक्सी सेवन गर्ने तथा मृगीका रोगीहरु अचानक पल्टिदा समेत टाउको चोट यत्ति गम्भिर हुन्छ कि त्यसले सेरेब्रम आघात पैदा गर्न सक्दछ।

कतिपय हल्का मस्तिष्क आघातले तुरुन्त समस्या पैदा नगरेता पनि पछि बुढेस्कालमा शारीरिक, मानसिक समस्या तथा कग्निटिभ समस्याहरु पैदा गर्न सक्दछ। सेरेब्रम आघातले अल्जाइमर हुने सम्भावना निकै बढ्छ।

टाउकाको चोटपटकबाट मस्तिष्क क्षतिग्रस्त भइ तत्काल वा पछि देखिने एउटा गम्भिर लक्षण स्मृतिलोप (मेमोरी लस) हो।

स्मृतिलोपलाई मेडिकल भाषामा एम्नेसिया भनिन्छ। एम्निेसियाबाट पीडित व्यक्तिले आफ्नो नाम, ठेगाना, मिती–वार, गाउँ–टोल आदि जस्ता कुराहरूवा सम्पूर्ण कुरा बिर्सन सक्दछन्।

वास्तवमा एम्नेसिया पुनःस्मरण गर्ने क्षमता वा पूर्वअनुभवहरूको पहिचान गर्ने आंशिक वा पूर्ण अयोग्यता हो।

एम्नेस्टिक डिस्अर्डरमा पूराना कुराहरू मात्र होइन कि नयाँ कुराहरू पनि याद राख्न कठीन हुन्छ। स्मृति लोप विभिन्न कारणले हुने गर्दछ।

तर यसको प्रमुख कारण मस्तिष्कमा हुने क्षति तथा खराबी हो। मस्तिष्कको क्षतिको एक प्रमुख कारण शिरको चोटपटक हो। त्यसो त स्मृतिलोप अन्य कारणहरुले पनि हुने गर्छ।

कोर्स कोफको संलक्षण (सिन्ड्रोम) पनि यस्तो स्मृति लोप हो, जुन भिटामिन बी १ (थाइमीन)को कमीले हुने गर्छ।

मस्तिष्कमा चोटपटक लागेर हुने स्मृतिलोप प्रायः स्थायी प्रकृतिको हुन्छ, तर भिटामिन बी १ को कमीले हुने स्मृतिलोप, सुरुमा नै उपचार गरेको खण्डमा निको हुन्छ।

स्मृतिलोप दुई किसिमका हुन्छन्। एक, एन्टेरोग्रेड एम्नेसिया दुई, रेट्रोग्रेड एम्नेसिया। एन्टेरोग्रेड एम्नेसियामा नयाँ सूचना संझना राख्ने क्षमता ह्रास हुन्छ, यस प्रकारको एम्नेसिया प्रायःप्रोग्रेसिभ डिमेंसियामा देखापर्छ भने रेट्रोग्रेड एम्नेसियामा पूरानो कुराहरू याद गर्न कठिन हुन्छ।

चर्चित हिन्दी सिनेमा ‘गजिनी’मा नायक सञ्जय सिंघानिया (आमिर खान)लाई टाउकाको चोटले गर्दा एन्टेरोगे्रड एम्निेसिया (सर्टटर्म मेमोरी लस अर्थात् अल्पकालीन मेमोरीको कमी)बाट पीडित देखाइएको छ।

यस्तो अवस्थामा अल्पकालीन स्मरणशक्ति बाहेक अन्य संज्ञानात्मक (कग्निटिभ) क्षमता भने प्रायः सामान्य हुन्छ। यसै गरी प्रकाश थापाद्वारा निर्देशित नेपाली चलचित्र ‘जीवन रेखा’मा नायिका उमा (मिनाक्षी आनन्द) तथा शम्भु प्रधानद्वारा निर्देशित नेपाली चलचित्र सपनामा नायिका सपना (करिश्मा केसी)लाई टाउको चोटले स्मृतिलोप भएको देखाइएको छ।

यी दुवै चलचित्रहरूमा नायिकाहरूलाई टाउकाको चोटपछि पुरानो कुनै कुराहरू याद हँुदैन। यो रेट्रोग्रेड एम्निेसिया उदाहरण हो। तर यी चलचित्रहरूमा देखाए झैं पुनः टाउकाको चोटले स्मृति फर्किँदैन।

शिरको चोटपटक वा अन्य शारीरिक कारणहरुले पैदा भएको स्मृतिलोपलाई अग्र्यानिक एम्नेसिया भनिन्छ भने मनोवैज्ञानिक कारणबाट पैदा भएको स्मृतिलोपलाई साइकोजनिक एम्नेसिया (डिसोसिएटिभ एम्नेसिया) भनिन्छ।

प्रायःअग्र्यानिक एम्नेसिया एन्टेरोग्रेड प्रकृतिका हुन्छन् भने साइकोजनकि एम्नेसिया रेट्रोग्रेड प्रकृतिका हुन्छन्।

टाउकाको चोटपटकले कग्निटिभ समस्याहरुका साथै अनेक मानसिक समस्याहरु पनि पैदा गर्न सक्छन्।

बुटवलका चर्चित मनोचिकित्सक डा. विक्रम काफ्लेका अनुसार शिरको चोटपटकले चोटपटकको प्रकृति हेरेर हल्कादेखि गम्भिर मानसिक समस्याहरु पैदा गर्न सक्दछ।

शिरको चोटपटकले सोच्ने, संझिने शक्तिमा कमी, डिप्रेसन, मेनिया, व्यक्तित्व परिवर्तन, पोष्ट ट्राउमेटिक डिसअर्डर, चिन्ता, चिडचिडापना, थकान, अनिद्रा, आक्रमकता तथा आवेग, मृगी, डेमिंसिया, कतिपय अवस्थामा साइकोसिस (आम भाषामा पागलपना) जस्ता न्युरोसाइकाइट्रिक समस्या देखिन सक्दछ।

पहिलादेखि नै मानसिक समस्या भएका तथा मादक पदार्थ सेवन गर्ने व्यक्तिलाई झनै अप्ठारो बनाउन सक्दछ।

अन्त्यमा
मस्तिष्क मानव शरीरको सबै भन्दा महत्वपूर्ण अंग हो । यही मस्तिष्कद्वारा नै शरीरका हरेक अंगहरूको नियन्त्रण, नियमन तथा संचालन हुने गर्छ।

मानिसको कग्निटिभ तथा चेतना व्यवहारहरूको मुख्य संचालक पनि यही मस्तिष्क हो। मस्तिष्क मानिसको मेमोरी बैंक पनि हो।

मस्तिस्क टाउकाको खप्पर भित्र सुरक्षित अवस्था रहेको हुन्छ। तर खप्पर फुटेर वा नफुटिकन मस्तिष्कमा अलिकति पनि क्षेति पुग्यो भने तत्कालै वा पछि निकै गम्भिर सस्मस्या पैदा गर्न सक्दछ।

त्यसैले टाउकाको विशेष सुरक्षा गर्न आवश्यक छ। टाउको चोटपटक सानो होस् वा ठूलो होस्, टाउको चोटपटक लागेको खण्डमा तुरुन्त चिकित्सक सँग सम्र्पक गर्नुपर्छ र उचित ठाउँमा उपचार गराउनुपर्छ।

मूल कूरो अग्लो ठाउँमा चढ्दा वा अग्लो ठाउँमा चढेर काम गर्दा सुरक्षाको उचित व्यावस्था गर्नु पर्दछ।

चाडपर्वमा होस् वा कुनै पनि बेला ट्राफिक प्रहरीको आँखा छलेर बिना हेल्मेट मोटरसाइकल हाँक्ने, मोटरसाइकलमा दुई भन्दा बढी मानिसहरु हालेर हिँड्ने, बसको छतमा बसेर वा बसको ढोकामा तथा बसकोपछाडि झुण्डिएर यात्रा गर्ने, माद्यकपदार्थ सेवन गरेर तथा तछाडमछाड ट्राफिक नियमको उलंगन गरेर सवारी चलाउने जस्ता जोखिमपूर्ण क्रियाकलाप गर्नु हुँदैन ।

– लेखकमनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन्।