कोरोनाका कारण अमेरिकामा गुमाए पाँच लाखभन्दा बढीले ज्यान

एजेन्सी । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको अमेरिकामा हाजसम्म पाँच लाखभन्दा बढीले ज्यान गुमाएका छन्।

विश्वका देशममध्ये सबैभन्दा जोखिममा परेको र अझै संकट कायम रहेको अमेरिकामा हालसम्म कोरोनाले पाँच लाख १७० जनाभन्दा बढीको ज्यान लिइसकेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार यहाँ कुल संक्रमित हुनेको संख्या दुई करोड ८१ लाख नाघेको छ।

विश्वभर हालसम्म ११ करोड १६ लाख ९३ हजारभन्दा बढी संक्रमितको संख्या पुगेको र २४ लाख ७३ हजारले विश्वभर ज्यान गुमाएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाका कारण पाँच लाख अमेरिकीको ज्यान गएको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै एक राष्ट्रका नाममा आफूहरुले यस्तो क्रूर नियति स्वीकार्न नसक्ने बताए। ‘यो गम्भीर अवस्थामा हामी शून्य हुनुको साटो यसलाई रोक्न प्रयास गर्नुपर्छ’, उनले भनेका छन्।

सम्बोधनपछि राष्ट्रपति बाइडेन, प्रथम महिला डा जिल बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र द्वितिय पुरुष डगएनहोफले ज्यान गुमाउनेको स्मृतिमा मौनधारण गरेका थिए। उनीहरुको स्मृतिमा ह्वाइटहाउस बाहिर दीप प्रज्वलन गरिएको थियो।