परशुराम धाममा धार्मिक महोत्सवको तयारी

डडेल्धुरा । परशुराम नगरपालिका जैविक, भौगोलिक मात्र होइन धार्मिक हिसाबले पनि महत्वको क्षेत्र मानिन्छ । चार धामभध्ये एक धाम यही क्षेत्रमा पर्ने भएकाले पन ियो क्षेत्र बढी महत्वको मानिन्छ । डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–५ मा आउँदो पुस ३० देखि माघ ८ गतेसम्म ‘परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५’ आयोजना हुने तयारी अन्तिम चरणमा पुगेको छ ।

सामाजिक, साँस्कृतिक र धार्मिक क्षेत्रलाई बढी महत्व दिने यस नगरका नगर प्रमुख भीमबहादुर साउँदको अग्रसरतामा यस क्षेत्रलाई उजागर गर्ने कामलाई उच्च प्राथमिकता दिइएको छ । चार धाममध्येको एक मानिने परशुराम धामलाई देश तथा विदेशमा चिनाउन महामहोत्सव गर्न लागिएको हो ।

पुस ३० गते कलश यात्रासहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने महामहोत्सवमा महास्नान, गंगा आरती, मकर महास्नान, योग विज्ञान शिविर, नित्यपूजा, संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ, देउरा दर्शन, दिवा कार्यक्रम, रात्री कार्यक्रमहरु प्रस्तुत हुने आयोजनक परशुराम नगरपालिकाका नगरप्रमुख एवं परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५ का संयोजक भीमबहादुर साउदले बताए ।

महामहोत्वसको तयारी ८० प्रतिशत सकिएको साउदको भनाइ छ । ‘परशुराम भगवान विष्णुको छैठौं अवतारका रुपमा लिइन्छ । यो विश्वकै चार धाम मध्यको एक धाम हो । भगवान परशुरामले यही क्षेत्रमा तपस्या गरेको र यसै क्षेत्रमा उहाँहरु पनि जन्म भएको स्कन्द पुराणमा उल्लेख छ’ नगरप्रमुख साउद भन्छन्, ‘यो क्षेत्र ओझेलमा परेको छ, यहाँको महत्वलाई देश विदेशमा उजागर गर्न महामहोत्वसको आयोजना गर्न लागिएका हो ।’

यस्तो छ परशुरामधामको महत्व

परशुराम धाममा पुस महिनाको मसान्त तथा माघे संक्रान्तिको अवसरमा हरेक वर्ष मेला लाग्ने गर्छ । परशुराम धाममा रहेका चुनढुंगा भगवान परशुरामले तपस्यालगत्तै होम गरेपछि बनेको भन्ने जनविश्वास छ ।

पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजन जाग्राम बस्ने गर्दछन् । माघ १ गते बिहान ४ बजेदेखि महाकाली किनारमा नुहाउने भक्तजनको भीड लाग्छ ।

माघे संक्रान्तिको दिन गंगा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास छ । मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत तीर्थालु तथा दर्शनार्थी आउने गरेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेम चन्द ठकुरीले जानकारी दिए ।

सबै तीर्थ पटक–पटक परशुराम एक पटक’ स्कन्द पुराणको मानसखण्डमा उल्लेखित उक्त वचनले नै परशुराम तीर्थको धार्मिक महत्व दर्शाउँछ । भगवानका दश अवतार मध्ये परशुराम अवतार भएको उक्त धाम डडेल्धुराको परशुराम नगरपालिका–५ महाकाली किनारमा छ। हिन्दू देवीदेवताका तेत्तिसकोटी मठ मन्दिरमध्ये परशुराम तिर्थ मात्र एउटा यस्तो पवित्र धाम हो जस्को संसारमा अन्यत्र कहीं पनि मन्दिर पाइँदैन ।

स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतनपछि भगवान शिवले यही धाममा लामो कालखण्ड तपस्या गरेका थिए । पछि ईश्वरीय अवतारका लागि यही भूमिमा परशुरामले तपस्या सफल पारे । परशुराम भगवान् विष्णुका दश अवतारमध्ये एक मानिन्छन् ।

महाकाली पारी परशुराम धामदेखि सात किलोमिटरको दुरीमा रहेको पूर्णागिरी मन्दिरमा बर्षेनी आउने लाखौं धार्मिक यात्रुहरु मध्ये एक चौथाइ परशुराम धाममा आउने वातावरण सिर्जना गर्ने हो भने डडेल्धुराको मात्र नभउर सुदूरपश्चिमकै आर्थिक विकासमा ठूलो फड्को मार्ने देखिन्छ ।

 परशुरामधाम पुग्न

परशुरामधाम डडेल्धुराको सदरमुकामदेखि १०० किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दूरीमा छ । सडक मार्गबाट यहाँ पुग्न सकिन्छ । भीमदत्त सडकखण्डमा पर्ने डोटीको बुडरबाट छुट्टिने कच्ची सडकबाटो भएर ४ घन्टामा परशुरामधाम पुग्न सकिन्छ । यहाँ जान काठमाडौंदेखि धनगढी हवाइजहाजबाट जान सकिन्छ । धनगढीदेखि बुडरसम्म सार्वजनिक यातायात वा निजी सवारी भाडामा लग्न सकिन्छ ।

तस्बिर:परशुरामधाम मन्दिरमा पूजा गर्दै काँग्रेस केन्द्रीय सदस्य एनपी साउँद, नगरप्रमुख भीमबहादुर साउँदलगायत ।