सरकार छुट्टै छानविन समिति बनाएर वाइडबडी प्रकरण लुकाउन खोज्दैछ : देउवा

उर्लाबारी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

पार्टीको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटनका क्रममा सभापति देउवाले वाइडबडी विमान प्रकरणमा जुनसकै पार्टीको भए पनि कारवाही हुनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पारेका हुन् ।

सरकारले छुट्टै छानविन समिति बनाएर घटनालाई लुकाउने शङ्का उत्पन्न भएको बताउँदै उनले भने, ‘घटनामा संलग्न जोसुकै भए पनि काङ्ग्रेसले छाड्दैन ।’ सभापति देउवाले जनताको इच्छा र चाहनाअनुसार काम गर्न नसकेका कारण सरकार विभिन्न विवादमा फस्दै गएको बताए ।

उनले सरकारले शिक्षा, सञ्चार, प्रहरी सङ्गठनलगायतका क्षेत्रमा हस्तक्षेप गरेको समेत बताए । सरकारको हस्तक्षेपका विरुद्ध काङ्ग्रेसले अब देशभर आन्दोलन शुरु गर्ने काँग्रेस सभापति देउवाले उद्घोष गरे । उनले सरकारले कर बढाएर उद्योगी व्यापारीलाई दुःख दिएको बताउँदै भने, ‘ओली केपी ओली नभएर करप्रसाद बनेका छन् ।’

कार्यक्रममा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य डा शेखर कोइराला , विश्वप्रकाश शर्मा, डा डिला सङ्ग्रौला र अमृत अर्यालले आगामी निर्वाचनमा काङ्ग्रेसलाई बहुमत दिलाउन हिलेदेखि नै सबै कार्यकर्ता एकजुट भए लागिपर्नुपर्नेमा जोड दिए ।