तारा कोइरालाको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ काङ्ग्रेसका पुराना नेता तारा कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले मंगलबार शोक विज्ञप्तिमार्फत कोइरालाको निधनको खबरले अत्यन्त स्तब्ध र दुःखी बनाएको उल्लेख गरेका छन् ।

लमजुङका पुराना कांग्रेसी ७५ वर्षीय कोइरालाको आज बिहान मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको काङ्ग्रेसले जनाएको छ । स्वर्गीय कोइराला विसं २०१७ पछि काङ्ग्रेस जिल्ला कार्यसमिति, लमजुङको संस्थापक सभापति थिए ।

विसं २०३६ मा जननायक बिपी कोइराला स्याङ्जाको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बिपीलाई लक्षित गरी तत्कालीन व्यवस्थाले चलाएको गोली लागि तारा कोइराला गम्भीर घाइते भएका थिए । उक्त गोली काण्डबाट उनको एउटा खुट्टा काट्नु परेको थियो ।

स्व कोइरालाले नेपाल विद्यार्थी सङ्घ लमजुङको संस्थापक अध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ लमजुङको संस्थापक अध्यक्ष, राष्ट्रिय अपाङ्ग कोषको पूर्व अध्यक्ष तथा पार्टीको महाधिवेशन प्रतिनिधिको समेत कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका थिए ।

नेपालमा लोकतन्त्र बहालीको सङ्घर्षका क्रममा कोइरालाले करीब दुई वर्ष जेल जीवन विताएका थिए । सभापति देउवाले स्व कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान नेपाली काङ्ग्रेसको इतिहासमा सदैव स्मरणीय रहिरहने बताएका छन् ।

‘उहाँको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको छ, पार्टीलाई अपूरणीय क्षति पुगेको छ, उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु साथै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।