नेपालका कर्मचारीलाई भारतमा तालिम

काठमाडौं । भारत सरकारले नेपाल सरकार अर्थ मन्त्रालयका ६२ कर्मचारीलाई भारतमा तालिम दिने भएको छ । भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ आईटिईसी अन्तर्गत गोलोबल पस्पेक्टिभ अन पब्लिक फाइनान्सियल म्यानेजमेन्ट विषयमा विशेष तालिम दिने घोषणा भारतीय राजदूतावास काठमाडौले गरेको हो । यस अघि नेपाल सरकार अर्थ मन्त्रालयले भारत सरकारलाई नेपाल–भारत आर्थिक सहकार्य कार्यक्रम अन्तर्गत ती कर्मचारीलाई उक्त तालिम प्रदान गर्न अनुरोध गरेको थियो ।

नेपालको अर्थ मन्त्रालयको आवश्यकता अनुरुप तयार पारिएको यो कार्यक्रम इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स मा हुनेछ । तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको छ । तालिम ३ ब्याचमा सञ्चालन गरिनेछ । प्रथम ब्याचका २० नेपाली कर्मचारीले २०७५ पौष ३० गते देखि नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स मा तालिम लिइरहेका छन् ।