मानव बेचबिखन गर्नेलाई २० वर्ष जेल

नुवाकोट । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै एक जनालाई अदालतले २० वर्ष कैद सजाय सुनाएको छ ।

दुप्चेश्वर गाउँपालिका–३ राउतबेंसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले दोषी ठहर गर्दै सो फैसला गरेको हो । अठार वर्षिया युवतीलाई अभियुक्त तामाङले चार वर्षअघि भारत लगेर बिक्री गरेको प्रहरीले जनाएको छ । विसं २०७१ कात्तिक १९ गते हराएकी युवतीका परिवारले जिल्ला प्रहरी कार्यालयमा आरोपी तामाङविरुद्ध उजुरी दिएका थिए ।

फरार रहेका आरोपी तामाङलाई काठमाडौँबाट २०७३ मङ्सिर १७ गते पक्राउ गरी नुवाकोट ल्याएर प्रहरीले अनुसन्धान थालेको थियो । पीडित युवतीलाई भारतीय प्रहरीले उद्धार गरी विसं २०७३ मा नेपाल फर्काएको छ ।