पटक पटक नेवि संघको म्याद थपिएपछि देउवा निवासमा धर्ना

काठमाडौं । नेपाली कांग्रेसको नर्शरीका रुपमा लिइने नेपाल विद्यार्थी संघको फेरि म्याद थप गरिएपछि नेविसंघका नेता कार्यकर्ताले चर्को बिरोध गरेका छन् ।

मोटरसाइकल र्यालीसहित नेविसंघ जिन्दाबादको नारा लगाउँदै पार्टी सभापति शेरबहादुर देउवाको निवास पुगेर उनीहरुले धर्ना दिएका हुन् । पटक–पटक म्याद थप्दा पनि वर्तमान नेतृत्वले निर्वाचन गराउन नसकेको भन्दै उनीहरुले म्याद थपको विरोध गरेका हुन्।

नाराबाजी गर्दै देउवा निवास बुढानीलकण्ठ पुगेका असन्तुष्ट नेविसंघका दर्जनौं नेता–कार्यकर्ताले म्याद थपको विरोध जनाएका हुन्। उनीहरुले देउवा निवास अगाडि केहीबेर धर्ना दिएका थिए । विधानअनुसार बुधबार नेविसंघको म्याद सकिएको छ । तर, कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिने जनाएका थिए ।

पटक पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै यसअघि उपाध्यक्ष पुष्पकुमार शाहीलगायत आठजना पदाधिकारी र केही सदस्यले राजजीनामा दिइसकेका छन् ।

विधान मिचेर पटक पटक म्याद थप्नु न्यायसंगत नभएको राजीनामा दिइसकेका उपाध्यक्ष शाहीले बताए ।  नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो । आन्तरिक विवादका कारण हुन नसकेपछि पार्टीले तीन महिनाको समय थपेर महाधिवेशन गर्न निर्देशन दिएको थियो ।

पुनः दुई महिना थपिएको म्यादभित्र पनि नेविसंघको १२ औँ महाधिवेशन हुन सकेन । नेविसंघका अध्यक्ष नैनसिंह महरले पुस अन्तिममा नेविसंघको महाधिवेशन गर्ने घोषणा गरे पनि त्यो पुरा गर्न नसकेपछि संगठनभित्र व्यापक असन्तुष्टि चुलिएको हो । अहिलेसम्म नेविसंघले ७७ जिल्लामध्ये १४ जिल्लामा मौ जिल्ला अधिवेशन गर्न सकेको छ ।