पुलिसलाई खप्तड गोल्डकपको उपाधि

धनगढी । नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय  सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि हात पारेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनलमा पुलिसले रुस्लान थ्री स्टारलाई १–० ले पराजित गर्दै उपाधि हात पारेको हो ।

पुलिसको जितका लागि  एकमात्र गोल अभिषेक रिजालले गरे । खेलको ६४ औं मिनेटमा निरकुमार राईले प्रहार गरेको कर्नर अभिषेक रिजाललाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । यस जितसँगै पुलिसले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता रुस्लान थ्री स्टारले भने १० लाख रुपैयाँमा चित्त बुझायो । खेलमा निर्णायक गोल गरेका अभिषेक आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

विजयी टोलीका प्रशिक्षक अनन्तराज थापाले सन्तोषजनक प्रदर्शन भए पनि उपाधि जित्दा खुसी लागेको बताए । ‘मैदानको अवस्थाका कारण हामीले अपेक्षित प्रदर्शन त गरेनौं । समयमा नै गोल निस्केकाले जित दर्ता गर्न सफल भयौं,’ उनले भने, ‘लिगको प्रदर्शन बिर्साउन मोफसलको प्रतियोगिता जित्ने लक्ष्य थियो । मोफसलको प्रदर्शनले अर्को लिगको तयारीको आधार हुनेछ ।’

विधागत उत्कृष्टतर्फ पनि पुलिसले नै वर्चस्व जमायो । उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी भए । उत्कृष्ट मिडफिल्डर रुस्लान थ्री स्टारक विक्रम लामा घोषित हुँदा उदयीमान खेलाडी सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबका भरत टमाटा घोषित भए । प्रतियोगिता अवाधिबह्र ३ गोल गरेका पुलिसका तिर्थ रानाले सर्वा्धिक गोलकर्ताको पुरस्कार पाए । व्यक्तिगत विधातर्फ सबै विजेताले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको समापन समारोहमा काँग्रेस नेतृ तथा सामाजिक अभियन्ता आरजु राणा देउवा, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर ओड, आयोजक क्लबका अध्यक्ष सुरेश हमाल, एन्फा महासचिव इन्द्रमान तुलाधर लगायतको उपस्थिति  थियो । काँग्रेस नेतृ आरजुले विजेतालाई उपाधि हस्तान्तरण गरेकी थिइन् ।