उपप्रमुख वसन्तीले त्यागिन सुविधा, गाडी किन्ने पैशा शिक्षा र एम्बुलेन्सलाई

काठमाडौं । समाजमा मानिस एकपछि अर्को सुविधाभोगी भइरहेका बेला दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती तामाङ डंगोलले भने सुविधामोह त्याग्नुपर्ने सन्देश दिएकी छिन् । नगरले दिएको सवारी सुविधा बापतको रकम उनले शिक्षा र स्वास्थ्यलाई उपलब्ध गराउने घोषणा गरेकी हुन् ।

डेगोलले सवारी सुविधाका लागि पाएको ३० लाख शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने निर्णय गरेको बताइन् । उपप्रमुखलाई पनि सवारी सुविधा चाहिन्छ भन्दै रकम छुट्याउन लगाएर उनले कृषि प्राविधिक विद्यालय सञ्चालन गर्न उक्त बजेट दिएकी हुन् । गाडी त पछि पनि चढ्दै गरौंला भन्दै उनले विद्यालय निर्माणमा रकम हाल्न लगाएको बताइन् । स्थानीय कामधेनु माध्यमिक विद्यालयलाई कृषि प्राविधिक विद्यालय संचालन गर्न २५ लाख उपलब्ध गराएको र बाँकी ५ लाख रकम एम्बुलेन्स किन्न दिँदा राम्रो होला भनेर त्यता दिएको उनले बताइन् ।
गत असारमा बसेको तेस्रो नगर सभाले उपप्रमुखका लागि सवारी सुविधावापत ३० लाख रुपैयाँ छुट्याएको थियो।

यो या त्यो नाममा सेवा, सुविधा लिइरहेका, पीएको तलब समेत आफै बुझिरहेका सांसद र दोहोरो सुविधा लिने मन्त्रीहरुको भीडमा डंगोलको उक्त कदमको चौतर्फी प्रसंसा गरिएको छ ।