प्रहरी प्रवक्ताले भने–बम दिदिबहिनी निर्दोष हुन

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले निर्मला हत्या प्रकरण संगठनका लागि नै प्रतिष्ठाको विषय भएकाले उच्च प्राथमिकताका साथ अनुशन्धान गरिरहेको बताएका छन् । रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै उनले निर्मला प्रकरणमा प्रहरी संगठनले मेहनतका साथ ईमान्दारितापूर्वक अनुशन्धान गरिरहेको दावी गरे । ‘यो प्रकरण हाम्रो संगठनको लागि पनि प्रतिष्ठाको विषय हो । हामीले उच्च प्राथमिकताका साथ अनुशन्धान गरिरहेका छौं’, उनले भने ।

साक्षात्कारमा बोल्दै प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा आजको मितिसम्म संगठनलाई कुनै पनि राजनीतिक दबाब नआएका जिकिर गरे । भने, ‘राजनीतिक प्रभाव अथवा दबाबले कुनै घट्नालाई यति समयसम्म नेपाल प्रहरीले सहेर, कुनै व्यक्तिले कहिलेकाहीँ कुनै अमुक केशमा कुनैमा सहेको हुँदो होला, संस्थाले कहिल्यै पनि सहँदैन् । त्यसमा पनि यो केशमा कतैबाट दबाब आएकै छैन ।’

यो प्रकरणमा राजनीतिक दबाब आएको कुरा हल्ला मात्रै भएको उनको भनाइ थियो । कहिलेसम्म दोषी पत्ता लगाउनुहुन्छ भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘अब अनुशन्धान, जुन दिन हुन्छ, त्यही दिन सार्वजनिक गर्छौं । हामीलाई त यति हतार छ कि तथ्य आउँना साथ हामी सार्वजनिक गरेर त्यो दिन हामी पनि लामो सास फेर्नुपर्ने अवस्था छ ।’

प्रहरीको ‘डिएनए–टेष्ट’मै आशंका भनेर बाहिर कुराहरु आएका छन् नि भनेर सोधिएको अर्को प्रश्नमा उनले भने, ‘मैले पनि मिडियामा पढेको छु, हाम्रो विशेषज्ञहरु र हामीले कन्सल्ट गर्दाखेरि उहाँहरुले त्यस्तो कुरा होईन भन्नुहुन्छ । यो टेक्निकल विषय भएकोले कुरा उठेको छ, यसमा नेपाल प्रहरी पनि एकदम सिरियश छ ।

प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा नाम मुछिएका बम दिदिबहिनीहरु निर्दोष रहेको स्पष्ट पारे । उनले भने, ‘नेपालको प्रचलित कानून र संविधानले पनि कानुनबमोजिम प्रमाणित नहुेन्जेलसम्म उसलाई दोषी भन्न मिल्दैन् । मलाई त कहिलेकाहीँ दुःख लाग्छ, यी कुराहरु नआइदिएको भए हुन्थ्यो जस्तो लाग्छ । नेपाल प्रहरीको प्रवक्ताको हैसियतले भन्दाखेरि निजहरुको विरुद्धमा कुनै प्रमाण अथवा अदालतले दोषी करार नगरुञ्जेलसम्म उहाँहरु निर्दोष हुन । यो कुरा मैले भन्नैपर्छ ।’
प्रवक्ता सुवेदीले भूमिगत सशस्त्र समूहको नाममा हिजोको अवस्थामा हुने गरेका हत्या, हिंसा, बम विस्फोटन, जबरजस्ती चन्दा संकलन, अपहरणजस्ता घट्नाहरु प्रहरीको सक्रियताले अहिले न्यूनिकरण भएर लगभग जिरोको अवस्थामा रहेको दाबी गरे ।

सुवेदीले समग्र रुपमा देशमा अहिले बन्द, हड्ताल, जातीय तथा क्षेत्रिय हिंसा अथवा अन्य कुनैपनि किसिमले अराजकताको अवस्था नरहेको जिकिर गरे । धादिङबाट हिजो सुन भनेर बरामद भएको ४ केजी पित्तलको बारेमा प्रतिक्रिया दिँदै उनले भने, ‘चार केजी सुन प्रहरीले बुझायो, बुझाउँदाखेरि सुन बुझाएको, उता परीक्षण गर्दा तामा निस्कियो भन्ने कुरा आएको छ । तर, हेर्दैमा सुन होईन भन्न सकिँदैन । त्यसैले प्रहरीले मुचुल्का गराउँदा पहेंलो सुनजस्तो देखिने, यति तौलको भनेर नै बरामद गर्छ ।’

३३ केजी सुन प्रकरणपछि अहिले ठाउँ–ठाउँमा सुन समातिने क्रमहरु देखिरहेको सुनाउँदै यसमा प्रहरीको सक्रियताको ठूलो भूमिका रहेको सुवेदीले बताए । उनले भने, ‘धेरै किसिमका संगठित अपराधहरुलाई ब्रेक गर्न सफल भए पनि तीन वटा कुराको संगठित अपराधको अझै ब्रेक गर्न जरुरी गर्न देखिन्छ । पहिलो, मानव तस्करी, दोस्रो ड्रग्स, तेस्रो स्मग्लिङ । प्रहरीले अहिले स्मग्लिङलाई साईजमा ल्याएको छ ।’