हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

तेह्रथुम । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि म्याङलुङ नगरपालिका–८, आम्बुङकी एक सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
आम्बुङकी ३३ वर्षीय लोककुमारी लिम्बूको जिल्ला अस्पतालमा प्रसूति गराइए पनि अत्यधिक रक्तस्राव भएका कारण थप उपचारका लागि आज हेलिकप्टरमार्फत कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ ।

लिम्बूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी कोशी अञ्चल अस्पताल पठाइएको प्रजिअ लक्ष्मीदेवी हुमागाईँले बताइन् । छैटौँ पटक गर्भधारण गरेकी लिम्बूलाई गत शुक्रबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।