वर्षाका कारण खेल रद्द

काठमाडौं । उपत्यकामा परेको वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत बुधबार हुने पाँचवटा खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने पाँच खेल स्थगित भएको आयोजकले जनाएको छ ।

क्लबसँग रहेको खुल्ला भलिबल कोर्ट वर्षाको कारण हिलाम्य भएको र आज खेल सञ्चालन गर्न नसकिएको क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए । वर्षा रोकिएर घाम लागेमा बिहीबारबाट पूर्वनिर्धारित समयमै खेल सञ्चालन हुने उनको भनाइ छ ।

प्रतियोगितामा आज नेपाल पुलिस क्लब र मकवानपुरको थाहा नगरपालिका, पश्चिमाञ्चल भलिबल क्लब र सेब स्कुल, एपिएफ र ढोरपाटन स्पोर्ट्स क्लब, पुलिस र त्रिभुवन आर्मी क्लब, एपिएफ र चितवन टाइगर्सबीच खेल हुने कार्यक्रम थियो ।