सुन्तलाबाट जाम बनाउन सिक्दै महिला

दमौली । तनहुँको भिमाद नगरपालिका–९ भानुमति सुन्तलाको पकेट क्षेत्र हो । यहाँबाट वाषिक एक करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको छ ।

यहाँका कृषकले लगाएको सुन्तला व्यापारीले बोटमै पुगेर किन्ने गरेका छन् । कृषकसँग सुन्तला खरीद गरेर व्यापारीले विभिन्न जिल्लामा लगेर सुन्तला बिक्री वितरण गरिरहेका छन् ।

राम्रा–राम्रा सुन्तला व्यापारीले लगे पनि बिक्री नहुने खालका सुन्तला त्यसै छाडिन्छ । जुनपछि कुहिएर खेर जाने गरेको छ । धेरै समयपछि कुहिएको सुन्तला स्थानीयले पशुलाई खुवाउने गरेका छन् ।

सुन्तलाबाट जाम बनाउन सकिन्छ भन्ने जानकारी पाएपछि भने यहाँका महिलाले बिक्री नभएको सुन्तलालाई सदुपयोग गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्य राखेका छन् । महिलाले गाउँघरमै उत्पादन भएर बिक्री नभएको सुन्तलाबाट जाम बनाउने सीप सिक्न थालेका छन् ।

अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाले महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले सुन्तलाबाट जाम बनाउने सीप सिकाउन थालेको महिला सहकारी संस्थाका अध्यक्ष देवीमुक्तान आलेले जानकारी दिए ।

सहकारीले सुन्तलाबाट जाम बनाएर बिक्री गर्ने सोचसमेत राखेको छ । सहकारीका लेखा संयोजक सुमाया थापाले आगामी वर्षदेखि सहकारीले नै जाम बनाएर बिक्री गर्ने लक्ष्य राखेको जानकारी दिइन् ।