काङ्ग्रेस केन्द्रीय समिति बैठक बिहीबारः नेविसङ्घबारे निर्णय हुने

काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकले कार्यकाल सकिएको भातृ संगठन नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति बैठकले पारित गरेको पार्टीको विधान र समसामयिक राजनीति जस्ता विषयमा छलफल गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेविसङ्घ केन्द्रीय कार्यसमितिको थपिएको पदावधि माघ २ गते समाप्त भइसकेको छ । यअघि पनि नेविसंघको दुईपटक म्याद थपिएको थियो । काङ्ग्रेसमा नेविसङ्घको नयाँ तदर्थ केन्द्रीय समिति बनाउने वा वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मेवारी दिने भन्ने सवालमा छलफल जारी छ ।

नेविसङ्घको वर्तमान कार्यसमिति २०७३ साल भदौ २ गते भएको ११औँ महाधिवेशनबाट दुई वर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । निर्वाचन लगत्तै नेविसंघका अध्यक्ष नैनसिंह महरले दुई वर्षमै १२ औँ महाधिवेशन गरेर जिम्मेवारी हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।

त्यसो हुन नसकेको भन्दै १६५ सदस्यीय कार्यसमितिका ५२ पदाधिकारी र केही सदस्यले पदबाट सामूहिक राजीनामा दिइसकेका छन् ।

पार्टीको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई महासमिति बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको थियो । त्यसमा खासगरी केन्द्रीय सदस्यले पार्टीका स्थानीय तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटकमात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो । काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेविसंघलगायत सुझवमाथि छलफल हुनेछ ।

केन्द्रीय समिति बैठकको तयारी र खासगरी नेविसङ्घको सम्बन्धमा के गर्ने भनी परामर्श गर्न बुधबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो ।