नेविसंघको कडा आन्दोलन, सरकारलाई १६ प्रश्न

काठमाडौं । देशभर वर्षा र हिमपातले मौषम चिसिएको छ । तर सरकारको शैलीका कारण देशको राजनीतिक माहोल भने गर्माएको देखिन्छ । सरकारले एकपक्षीय रुपमा विधेयक ल्याउने कोसिस र प्रतिपक्षीलाई पेलेरै जान खोजेको भन्दै काँग्रेस संसद र सडकमै आन्दोलनमा उत्रिएको हो । सरकारलाई दबाब दिन सोमबार र मंगलबार कांग्रेस सांसदहरुले लगातार सदन अवरुद्ध पारे भने सरकारविरुद्ध सडक र सदनमा विरोध गर्ने नीति अनुसार बुधबारदेखि कांग्रेसको भातृ संगठन नेविसंघले सडक तताएको छ ।

सरकारको विरोधमा १६ प्रश्नसहित सडकमा उत्रिएको नेविसंघले प्रधानमन्त्री केपी ओली विरुद्ध चर्का नारा लगाएको छ । माइतिघरदेखि बानेश्वरसम्म नेविसंघ कार्यकर्ताले माउ पार्टी कांग्रेसकै शैलीमा सरकार असफल भएको आरोप लगाएको छ ।

नेविसंघको विरोध प्रदर्शनलाइ प्रदेश हुँदै गाँउ तहसम्म पुर्याउने नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले बताए । सदनदेखि सडकसम्म थालेको आन्दोलनमा डाक्टर गोविन्द केसीको सत्याग्रह, निर्मलालाई न्यायका पक्षमा र ३३ किलो सुन प्रकरणका दोशीलाई कारबाहीलगायतका मुद्दामा केन्द्रित भएको महरले बताए । सरकारले यस्तै रबैया कायम राखे आन्दोलनको आधीबेहरी ल्याउने पनि महरले दावी गरे ।