सरकारको नयाँ ललिपपः सातदोबाटो–नारायणगोपाल मेट्रो रेल चल्ने !

काठमाडौं । सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ । कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले बिहीबार विश्वव्यापी बोलपत्र आह्वान गरेको छ ।

विभागले डिपिआर तयारीका लागि आशयपत्र पेश गर्न विश्वव्यापी बोलपत्र आह्वान गरेको विभाग जनाएको छ । रेलमार्गको पूर्वसम्भाव्यता मात्रै अध्ययन भएको छ । त्यही आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार पार्न विश्वव्यापी बोलपत्र आह्वान गरिएको विभागले जनाएको छ ।

विभागले बोलपत्र प्रक्रियामा आगामी चैत ८ गतेसम्म सहभागी हुन सकिने सीमा तोकेको छ । आर्थिक तथा प्राविधिक प्रस्तावमा योग्य कम्पनीलाई छनोट गरी डिपिआर बनाउन दिइने विभागको भनाइ छ । छनोट भएका कम्पनीले उक्त मेट्रो रेलको विस्तृत सर्वेक्षण, ढाँचा र डिपिआर बनाउनुपर्नेछ ।