‘सोरठी’ संरक्षणमा मगर समुदाय

० कमल खत्री

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजाका ९ वर्षीय प्रदीप पाइजा पुख्र्यौली मादले मारुनी नाच्न थालेका छन् । मगर समुदायको पुख्र्यौली संस्कृतिको रुपमा चिनिने यो नाच लोपोन्मुख भएपछि आफ्ना अभिभावकको प्रेरणाबाट पाइजाले मादले मारुनी नाच सिकेका हुन् ।

बेनीस्थित लिटल गार्डेन एकेडेमीमा कक्षा २ मा अध्ययनरत पाइजाले तीन महिना अघि गाउँमा आफ्नो ठूलो बुबामार्फत पुख्र्यौली नाच सिकेका थिए । ‘गाउँमा हरेक कार्यक्रममा पुख्र्यौली नाच्ने चलन छ, स–सानाले पनि यस्तो नाच सिक्नुपर्छ भनेपछि मैले पनि सिकेको हुँ,’ माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा आयोजित कार्यक्रममा पुख्र्यौली नाच्दै गरेका पाइजाले भने ।

सोरठी गीतको भाकामा मादलको तालमा नाचिने यो नृत्य मगर समुदायको विवाह, व्रतबन्ध, क्षवर लगायतका शुभकार्यहरुमा अनिवार्य देखाउने चलन छ । दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ । अन्य सार्वजनिक कार्यक्रमहरुमा समेत गुञ्जिने सोरठी गीत र नाचिने मादले मारुनीलाई जीवन्त राख्न यहाँका मगर समुदाय जुटेका छन् । मगर समुदायको बाहुल्य रहेको म्याग्दीमा यतिबेला युवा पुस्ता पुख्र्यौली नाचतर्फ आकर्षित भएका छन् ।

नाच देखाउन थालेपछि कतिपय मानिस काम्न शुरु गर्ने अनौठो विशेषता बोकेको पुख्र्यौली नाच संरक्षणका लागि अग्रज र पाका कलाकारहरुबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न पहल थालिएको हो । पहिलो पटक सार्वजनिक कार्यक्रममा मारुनीको भूमिकामा नाचेका अन्नपूर्ण गाउँपालिका–३ दानाका १६ वर्षीय युवक सन्तोष पुन मनोरञ्जन र रमाइलो सँगै पुराना संस्कृति जोगाउन आफूले नाच सिकेको बताउँछन् ।

पाइजा र पुन प्रतिनिधिमूलक पात्र मात्रै हुन् । जिल्लाका हिस्तान, राम्चे, नारच्याङ्, शिख, काफलडाँडा, नागी, रिम, टिकोट, औल, घराम्दी, दोसल्ले, खिवाङ, दग्नाम, चिमखोला, लगायतका ठाउँमा नयाँ पुस्ताले पुख्र्यौली नाच नाच्न थालेका छन् । केही वर्ष अघिसम्म बूढापाकाहरु मात्रै नाच्न र गाउन सक्ने भए पनि पछिल्लो समय युवा जमातसमेत नाचमा सहभागी हुन थालेको दानाका पुराना कलाकार मन बहादुर पाइजाले बताए ।

आफ्नो मौलिक कला, भाषा र वेशभूषा संरक्षणका लागि नेपाल मगर सङ्घले अभियान थालेपछि अहिले पुख्र्यौली नाच संरक्षण अभियानले तीव्रता पाएको छ । हराउँदै जान थालेको पुख्र्यौली लगायतका मौलिक संस्कृतिलाई पाका कलाकारहरुबाट नयाँ पुस्तामा हस्तान्तरण गर्न लागिपरेको मगर सङ्घ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीले बताए ।

अध्यक्ष थजालीले भने, ‘भाषा, कला र संस्कृतिको संरक्षण हाम्रो पहिलो दायित्व हो । विभिन्न अवसरमा तालीम चलाएका छौँ । केही नयाँ पुस्ताले शीप र क्षमताको विकास पनि गरेका छन् । पुख्र्यौली संस्कृतिबारे थप तालीम सञ्चालन गर्ने योजना बनाएका छौँ ।’ मगर सङ्घले दुई वर्ष अघि बेनीमा पुख्र्यौली कला र संस्कृति संरक्षणका लागि दोस्रो पुख्र्यौली नृत्य प्रतियोगिता नै सम्पन्न गरेको थियो ।

बेनी बजारको पिपलचोकका चन्द्र बहादुर गर्वुजा उमेरले ६५ वर्ष लागे । राम्चे गाउँबाट बेनीमा बसाइँ सरेपछि उनले विगत १० वर्ष अघि पुख्र्यौली नाच सिकेका थिए । नयाँ पुस्तामा पुख्र्यौली संस्कृतिबारे रुचि नै नभएको देखेपछि उनले पुराना कलाकारहरुको सङ्गतबाट मारुनीको भूमिकामा नाच सिकेका हुन् ।

‘पुर्खाले सिर्जना गरेको संस्कृतिको संरक्षणका लागि म अहिलेसम्म नाच्दै आएको छु, नवप्रवेशी युवालाई पनि नाचको ताल, सोरठीका भाकाहरु सिकाउन थालेको छु, अहिले केही युवा यसप्रति आकर्षित पनि छन्,’ गर्वुजाले भने । पुस्तौंदेखि मगर समुदायमा हुने विवाह, व्रतबन्ध, भोजभतेरहरुमा पुख्र्यौली नचाउने चलन रही आएको छ । यस्तो संस्कृतिको जगेर्ना गर्न विभिन्न कार्यक्रमहरुमा नाच देखाउने गरेको मादले कलाकार थमप्रसाद गर्वुजा (थमन)ले जानकारी दिए । सोरठी गीत निकै लामो हुने गर्छ । गीतको भाका र नाच्नेहरुबीच मादलको ताल मिल्नुपर्छ । सोरठी अर्थात् पुख्र्यौली ७ रात ७ दिनसम्म पनि गाएर÷ नाचेर नसकिने मान्यता छ ।

युवा जमात वैदेशिक रोजगारीमा जाने क्रमले पछिल्लो युवा पुस्ता र पुरानो पुस्ताबीचमा संस्कृति हस्तान्तरणमा खाडल देखिएपछि तालीम, सहजीकरण लगायतका माध्यमबाट संस्कृति संरक्षणमा जुटेको मगर सङ्घ म्याग्दीका सचिव लोकेश पुनमगरले बताए । ‘पुख्र्यौली संस्कृति पुर्खाको सम्पत्ति र हाम्रो लागि गहना हुन्, युवा पुस्तालाई यसप्रति आकर्षण गर्ने र संस्कृति जोगाउनेतर्फ सङ्घ दत्तचित्त छ,’ उनले भने ।

पुख्र्यौली नाच देखाउँदा महिलाले सोरठी भाका गाउने गर्छन् । पुरुषहरु कोही कोही महिलाले लगाउने चोली, गुन्यू, पटुका, घल्याङ, पछ्यौरा, माला, हातमा रैयाले सिङ्गारिएर मारुनी बन्छन् भने सोही अनुपातमा शिरमा फेटा÷टोपी, भोटो, खादी भांङ्ग्रा र कम्मरमा मादल भिरेर कोही मादले बनेर (मादले मारुनी) नाच देखाउँछन् । विशेष गरी यो नाच शुरु गर्नु पूर्व सरस्वती जगाउने गरिन्छ । मादलको तालअनुसार देखाइने यो नाचमा सरस्वती जगाउँदा चोखो शरीर भएकाहरु एक्कासी काम्ने गर्छन् ।तर, पूर्ण रुपमा अचेत नभए पनि स्वतःस्फूर्त रुपमा मादलको तालले उनीहरुका शरीरमा कम्पन ल्याउने र काम्ने गरेको पुख्यौली नाच्ने कालकारहरुको भनाइ छ ।

नाच शुरु हुनु पूर्व नै स्थानीय पुख्र्यौली भाकामा गाउने गीतसँगै मादलको तालमा काम्न शुरु गर्नेहरुमा मादलको २२ ताल पुगेपछि मात्रै आफैं कम्पन हराउने गरेको पाइन्छ । नृत्य प्रस्तुत भइरहँदा कार्यक्रममा सहभागी केही केही पत्याउनै गा¥हो पर्ने गरी एक्कासी काम्न शुरु गर्ने यो नृत्यको अनौठो विशेषता हो । – रासस

-फाइल तस्बिर