समाज र मानवीय चरित्रको ऐना हो मैयाँ

0 टीका सापकोटा

हाम्रै समाज र मानवीय चरित्रको ऐना हो, मयाँ कथासङ्ग्रह । त्यो कसरी ? प्रश्नको उत्तर पाउन संग्रह नै पढनुपर्ने हुन्छ । किताबको शीर्षकबाट नै थाहा लाग्छ ‘मैयाँ’ नारीप्रधान कथाको दस्तावेज हो । यसभित्रका धेरैजसो कथाहरु नारीले भोगेका पीडा र समस्याले भरिएका छन् । समस्याहरु हर परिवारमा हुन्छन् । सायद् कुनै पनि समाज यस्तो छैन होला जहाँ समस्या नै नहोस् । पीडा, उत्पीडनबाट मुक्ति पाउन कि त आफैँले सङ्घर्ष गर्नुप¥यो कि समाजमा आमूल परिवर्तन हुनुप¥यो, नत्र त्यति सम्भव छैन । जबसम्म मानिसको सोचमा परिवर्तन आउँदैन, तबसम्म नारीको जीवन सरल छ जस्तो लाग्दैन । अनेक बहानामा नारीमाथि हिंसा हुँदै आएको छ ।

कथा सङ्ग्रहको सुरूकै कथा “मलाई बाँच्न देऊ”मा पुरूषको शरीर सुःख र मनोरञ्जनका खातिर नारीले आफूसँगै गर्भको सन्तानको जीवनसमेत गुमाएकी छे । आमा बन्नु वा आमाको सुख प्राप्त गर्नु संसारको सबैभन्दा ठूलो सन्तुष्टि हो । यसका अगाडि सारा वैभव, सुखसयल बेकार छन् । हजार पीडा सहेर पनि नारी आमा हुनुको सुख भोग गर्न चाहन्छे । वात्सल्यले सन्तानलाई सिञ्चित गर्न चाहन्छे ।
तर, पुरूषकै निर्णयमा परेर कतिपय नारीले यो सुखबाट वञ्चित हुनु परेको मात्र होइन, आफ्नो जीवनसमेत गुमाएका छन् । यस कथाका आधारमा लाग्छ, भ्रूणहत्यामा नारीको भन्दा कैयौँ गुणा दोष पुरूषको छ । नारीलाई बाहिरी दुनियाँमा जति अधिकारले सुसम्पन्न गरे पनि र दुई–चार नारी उच्च पदमा पुगे पनि आन्तरिक पीडाबाट मुक्ति पाउन सकेका छैनन् । गर्भभित्रैदेखि सङ्घर्षपूर्ण जिन्दगी जिउँछे नारी । घरीघरी लाग्छ, प्रकृतिले पनि नारीलाई अन्याय नै गरेको छ । तर त्यसो होइन, मानिसको साँघुरो सोच, परिवार र समाजको विभेदकारी व्यवहार तथा राज्यको दण्डहीनताको मारमा परेका छन् नारीहरु ।

‘मैयाँ’ प्रतिनिधि कथाका रुपमा रहेको छ । सानैमा आमा गुमाएकी मैयाँको जीवन दर्दनाक बनेको छ । सौतेनी आमाको टोकेसो, बाबुको तिरस्कार खप्न नसकी मीठो खाने र राम्रो लगाउने आशामा झुमासँग सहर पसेकी मैयाँले अनेक कष्ट सहन्छे । जति दुःख गरे पनि आर्थिक अवस्था सुधार नभएपछि सुन्दरता र यौवन बिक्री गर्ने सहरको दलदलमा भासिन्छे । आर्थिक अवस्थामा सुधार आए पनि शरीरिक स्थिति भने कमजोर बन्दै जान्छ । अन्तमा सुन्दर भविष्यको कल्पना गरेर सहर पसेकी झुमा एड्सजस्तो महामारीको सिकार बन्न पुगेकी छ ।

अङ्ग्रेजीमा एउटा भनाइ छ– सम्पत्ति गुम्छ तर पनि केही गुम्दैन, स्वास्थ्य गुम्यो भने केही अवश्य गुम्छ, तर चरित्र गुम्यो भने सबैथोक गुम्छ । अन्त्यमा मैयाँसँग न स्वास्थ्यले साथ दियो न इज्जत नै रह्यो । हाम्रो समाजका कैयौँ चेलीको पीडा मैयाँसँग मेल खान्छ । सानैमा अभिभावक गुमाएका जोकोहीको जिन्दगी सरल हुँदैन । मैयाँको पनि पीडा यही हो । सानैदेखि दुःख र पीडामा बितेको जीवन पीडामै अन्त्य हुने देखिएको छ । उसको बाँकी जीवन कसरी बित्यो होला, पाठकलाई खुल्दुली लागिरहन्छ ।

हाम्रो समाजमा अझै पनि छोरा र छोरीबीच विभेद छ । छोरीलाई भन्दा छोरालाई नै राम्रो शिक्षादीक्षा दिएर सक्षम बनाउनुपर्छ भन्ने मानसिकता धेरैजसो बाबुआमामा हुन्छ । यही विभेदपूर्ण व्यवहारकै कारण कतिपय गाउँका छोरीहरुले दाउराघाँसमै जीवन बिताएका छन् । यस्तै शिक्षासम्बन्धी विषयवस्तु ‘शिक्षाको दियो’ कथामा समेटिएको छ । आमाबाबुले नै आफ्ना छोराछोरीलाई बराबर अधिकार प्रदान गरी लालनपालन गर्दै सक्षम बनाएमा मात्र दुवैमा समसत्ताको भावना विकास हुन्छ । त्यसैले, हामीले जन्मदेखि नै यस्ता विषयमा विशेष ध्यान दिनुपर्छ । बाबुआमाको सन्तान मोहसँगै छोराछोरीले बाबुआमाप्रतिको कर्तव्य बिर्सेर गरेको उपेक्षा पनि कथामा आएको छ ।

जसरी बिस्तारै हामीले संस्कार र संस्कृति बिर्संदै गएका छौँ, सन्तानले पनि आफ्नो कर्तव्य बिर्सिएका छन् । मान्छेलाई कर्तव्यनिष्ट र समाजलाई आदर्श बनाउन हरेक व्यक्ति मर्यादित र संस्कारी हुनैपर्छ । मानवको अविवेकी प्रवृत्तिबाट नै व्यक्ति र समाजले अनेक पीडा भोग्न बाध्य भएका छन् ।

 

समाजमा विद्यमान गर्भपतनजस्तो आपराधिक प्रवृत्ति, अभिभावकबिनाको जीवनमा भोग्नु परेका दुःख, कष्ट, यौवनलाई पैसासँग साट्न विवश चेलीको दर्दनाक कथा, क्याम्पसको जीवनशैली, सहरिया जीवनले बिर्साएको गाउँघर, गरिबीले निम्त्याएका यावत् पीडा, छोराछोरीबीचको विभेद, मनको शंकाले मित्रतामा आएको दरारजस्ता विषयवस्तु समेटिएको यस कथासङ्ग्रहले हामी बाँचेको समाजको यथार्थ चित्र उतारेको छ ।

परिवर्तन बाटो पिच गरेर, घरको तला थपेर र उद्योगधन्दा सञ्चालन गरेर मात्र हुँदैन, समाजमा बसोबास गर्ने हरेक व्यक्तिको मानसिकतामा परिवर्तन आउनुपर्छ । मानिसले आफूले भन्दा कयौँ गुणा छिटो र राम्रो काम गर्न सक्ने मेसिन बनायो, सबै प्राणीलाई वशमा राख्न सक्ने जुक्ति निकाल्यो, आफ्नो सुविधाका लागि अनेकौँ नयाँ–नयाँ वस्तुको आविष्कार ग¥यो, तर मानव भएर मानवता बिर्सिएको छ । अनेक बहानामा आफ्नै जाति र आफन्तलाई नै विभेद गर्छ, लिङ्गको नाममा, वर्गको नाममा र जातिको नाममा ।

संसारलाई सुन्दर बनाउन सक्ने मान्छेले आफ्नै मनलाई कुरुप बनाएको छ । जबसम्म मानवीय मन पवित्र हुँदैन, सुन्दर हुँदैन तबसम्म समाजमा भइरहेका र हामीले भोगिरहेका विभेद र पीडा कम हुने सम्भावना छैन । ‘मैयाँ’भित्रका हरेक कथाको आशय यही हो ।

निर्दोष जीवन नेपाली साहित्यका क्षेत्रमा उर्वर प्रतिभा हुन् । गजलबाट आफ्नो साहित्यिक यात्रा सुरू गरेका उनले २०७५ मा जिल्लामै पहिलो गजल एल्बम ल्याउन सफल भए । आफ्नै माटो, आफ्नै भूमिमा रमाउँदै नेपाली साहित्यमा कलम चलाउँदै आएका जीवनको योगदान मह¤वपूर्ण रहेको छ । कथाकारको पहिलो कथासङ्ग्रहका रुपमा प्रकाशित ‘मैयाँ’मा १९ वटा कथा समेटिएका छन् । विचार र भावको गहनताभन्दा सामाजिक यथार्थलाई छर्लङ्ग देखाउन खोजिएको छ यस कृतिमार्फत । भाषामा सरल रहेर पनि मानवीय संवेदनासँग जोडिएर उच्च भाव व्यक्त भएका छन् कथाहरुमा । छोटा र सन्देशमूलक कथाहरुले पाठकलाई छुट्टै स्वाद दिएको छ ।

यूरेका पब्लिकेसन प्रालिबाट प्रकाशित ‘मैयाँ’को रमेश पौडेलबाट सुन्दर आवरण डिजाइन भएको छ । मैयाँ कथालाई प्रतिनिधि कथाका रुपमा लिँदै आवरणमा पनि मैयाँलाई नै सजाइएको छ । जम्मा १२६ पेजमध्ये ११९ पेजमा कथाहरु रहेका छन् । कलात्मक आवरणभित्र सुन्दर कथाहरुले सुसज्जित ‘मैयाँ’को मूल्य जम्मा २५० राखिएको छ । २÷३ घन्टाको बसाइँमा पढिसकिने, छोटा भए पनि सन्देशमूलक कथाहरु भएकाले पाठकहरुलाई पट्यारको अनुभूति पटक्कै हुँदैन ।

‘मैयाँ’ कथासंग्रहले आजको समयलाई सही किसिमले परिभाषित गरेको छ । रामलाल जोशी, नीलम कार्की निहारिका तथा धनराज गिरीजस्ता राष्ट्रियस्तरका साहित्यकारको ममतामयी स्पर्श प्राप्त गर्न सफल ‘मैयाँ’ आफैँमा भाग्यमानी छ । आगामी दिनमा नेपाली साहित्यको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने सफलता मिलोस्, कथाकार निर्दोषलाई शुभकामना छ ।