आन्दोलनबाटै सर्वसत्तावाद ढाल्छौँः महर

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले नेपालका कम्युनिस्टहरु जनबिरोधी कार्यमा उद्धत भएको बताएका छन् । कम्युनिस्टहरुकै चरित्रका कारण समाजमा अमन चयन कायम हुन नसकेको आरोप उनको छ ।

नेविसंघले काठमाडौंमा गरेको बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष महरले विश्वबाट हराउँदै गएको सर्वसत्तावादी कम्युनिस्ट व्यवस्था नेपालमा भने झुटको खेती गरेर स्थापित भएकाले बताए ।

उनले कम्युनिस्टहरु ए क्लासका र अरु सबै बी क्लासकाजस्तै गरेर जनताप्रति कम्युनिस्ट सरकारले व्यवहार शुरु गरेकाले नेविसंघले सर्वसत्तावाद अन्त गर्न देशव्यापी आन्दोलन गर्नुको विकल्प नभएको बताए ।

सरकारले संसदीय मार्यादा नाघेर काँग्रेस सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक विस्तापित गर्दै माफिया पोस्ने विधेयक पास गरेको आरोप उनले लगाए । नेविसंघ लगायत काँग्रेसका भातृ संगठनले शनिबार देशैभरि आन्दोलन चर्काउने महरले बताए ।

नेविसंघ निर्मला बलत्कार हत्याका घटनामा सरकार किन चुप ? लगायतका विभिन्न १६ प्रश्न गर्दै आन्दोलनमा उत्रिएको छ । शुक्रबार सरकारले धरपकड गरेको बिरोधमा नेविसंघले मध्य राति राँके जुलुस निकालेको थियो ।