नेपाल सरकारलाई कोटेश्वर–कलङ्की सडक हस्तान्तरण

काठमाडौं । चीन सरकारले गत महीना निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलङ्की सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा सोमबारआयोजित ‘चिनियाँ सहयोगमा निर्माण भएको काठमाडौँ चक्रपथ सुधार परियोजना हस्तान्तरण कार्यक्रम’ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चीनका राजदूत हउ याङ्चीले साँचो दिँदै सो सडक हस्तान्तरण गरेका हुन् । सो अवसरमा सडकको संयुक्त उद्घाटन पनि गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच समस्यारहित र अनुपम सम्बन्ध रहेको बताए । चक्रपथको पहिलो खण्डमा देखिएको समस्या कलङ्की– महाराजगञ्ज सडक (दोस्रो खण्ड) मा दोहोरिइन नदिने उनले प्रतिबद्धता गरे । खानेपानीको पाइप, बिजुलीको खम्बालगायत सडक निर्माणमा अवरोध भए समयमा नै हटाएर काम सञ्चालन गर्न दिन प्रधानमन्त्रीले सबै मन्त्रालय र विभागलाई निर्देशन दिए ।

नेपालका लागि चिनियाँ राजदूत हउले निर्माण सम्पन्न भएको सडकबाट नेपाल चीनबीच सुमधुर सम्बन्ध रहेको प्रमाणित गरेको बताए । यो सडकले चीनको नै सहयोगमा निर्माण भएको अरनिको राजमार्ग र पृथ्वी राजमार्गलाई जोडेको उनले उल्लेख गरे । नेपाल र चीनका बीचमा मित्रवत् सम्बन्ध अझै बलियो बन्दै गएको पनि उनले बताए ।
–––