स्ववियुसँग नेविसंघको रगतको साइनो छ, निर्वाचनबाट भाग्दैनौं : अध्यक्ष महर, नेविसंघ निर्वाचनबाट भाग्न खोज्यो : अध्यक्ष तामाङ

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियुसँग आफ्नो संगठनको रगतको साइनो भएको बताएका छन् । ‘स्ववियूसँग हाम्रो रगतको साइनो छ, त्यसैले स्ववियु निर्वाचनबाट हामी भाग्दैनौ’, महरले भने ।

मंगलबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा बोल्दै महरले आफूहरु निर्वाचनबाट कुनै पनि हालतमा नभाग्ने जिकिर गरे । उनले भने, ‘तर, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ । त्यतातिर सरकारले पर्याप्त ध्यान देओस् ।’

साक्षात्कारमा बोल्दै स्ववियु विद्यार्थीको साझा मञ्च भएकोले नेविसंघलाई निर्वाचन जित्ने वा हार्ने कुराले कुनै फरक नपार्ने जिकिर महरले गरे । आफ्नो संगठनले एक महिना अघि नै स्ववियु निर्वाचन फागुण १४ गते गर्नेबारे विश्वविद्यालयलाई पत्राचार गरेर सहमति जनाइसकेको पनि महरले स्मरण गराए । उनले भने, ‘अहिले पनि हामी यो निर्णयमा अडिग छौं ।’

उनले वर्तमान सरकार सबै मोर्चामा असफल भएको दावी गरे । भने, ‘सरकार जनता र विद्यार्थीलाई प्रताडित गरिरहेको अवस्थामा, देशैभरि उपभोग्य वस्तुमा मुल्यवृद्धि भएको बेलामा, हत्या, हिंसा, बलात्कार, माफीया, भ्रष्टाचार र जति नहुनुपर्ने अपराधहरुको संरक्षक स्वयम प्रधानमन्त्री बनिरहेको बेलामा, सरकार निरीह र अलोकप्रिय भैरहेको बेलामा विश्वविद्यालयका विद्यार्थीलाई थाहा छ, कम्युनिष्ट सरकार कहीँ अब जनताका अधिकारप्रति पनि धावा बौल्दै छैन भनेर ?’

स्ववियु निर्वाचनमा नेविसंघलाई हराउने दुनियाँको कुनै तागद नभएको पनि उनले उद्घोष गरे । उनले भने, ‘हामी प्रजातान्त्रिक संगठन भएका कारणले प्रजातन्त्र भनेको नै निर्वाचन हो । त्यसकारण निर्वाचनबाट नेविसंघ भाग्दैन् । हामी भाग्दैनौं । हामी भाग्छौं भनेर कसैले कल्पना गरेको छ भने त्यो मिथ्यामात्रै हो ।’

नेविसंघका महामन्त्री कपिलेश्वर यादव अहिले पनि अस्पतालमै उपचारार्थ रहेको उनले सुनाए । उनले भने, ‘उहाँको टाउकोमा १४ टाँका लगाईएको छ । दिन दिनै विद्यार्थीहरुमाथि धरपकड भैरहेको छ । विद्यार्थीको टाउको फुटाइएको छ । यो अवस्थामा सरकार स्वयम् निर्वाचनबाट भाग्नको लागि उद्धत भएको हाम्रो ठहर छ ।’

अध्यक्ष महरले स्ववियु निर्वाचनबारे आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब एक घन्टा छलफल गरेको सुनाउँदै आफूले नेविसंघ जुनसुकै बेला चुनावमा जान तयार रहेको कुरा स्पष्टसँग राखेको जनाए । उनले वर्तमान सरकारले निर्वाचित सबै संस्थाहरुलाई ‘कोल्याप्स’ गरेर निरंकुश व्यवस्था चाहेको पनि गम्भिर आरोप लगाए । उनले भने, ‘त्यसको सुरुवात सरकारले स्ववियु निर्वाचनबाट गर्न खोजिरहेको छ ।’

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले देशैभरिबाट पराजय भोग्ने भयले नेविसंघले चुनाव नचाहेको आरोप लगाए । उनले स्ववियुको निर्वाचन हुन नसक्दा स्ववियुको चरित्रमाथि नै आघात पुगेको बताए । उनले स्ववियुको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने बताए । भने, ‘निर्धारित मितिमै स्ववियुको निर्वाचन जरुरी छ । त्यहीअनुरुप विश्वविद्यालयले पनि यही फागुन १४ गते स्ववियुको निर्वाचन गर्नेगरि तयारी गरेको छ ।’

विश्वविद्यालयले सबै विद्यार्थी संगठनहरुलाई चाँडै बोलाएर स्ववियुको निर्वाचन बनाउन आग्रह गर्नेपनि उनले विश्वास दिलाए । उनले भने, ‘स्ववियु निर्वाचन भयरहित, शान्त र लोकतान्त्रिक ढंगले सम्पन्न गर्ने हाम्रो दायित्व छ । हामी संगठनहरु पनि स्वस्थ, मर्यादित र लोकतान्त्रिक प्रतिष्पर्धाको निम्ति तयार छौं ।’ नेविसंघले निर्धारित मितिमा निर्वाचन नगर्नको लागि बहानीबाजी गरिरहको पनि उनको आरोप छ । ।