श्रीमती बलात्कार आरोपमा श्रीमान पक्राउ

भक्तपुर । पत्नीलाई उनको इच्छा र चाहना विपरीत जबर्जस्ती गरेको अभियोगमा मध्यपुर थिमिबाट एक श्रीमान पक्राउ परेका छन् ।

३७ वर्षीय श्रीमतीले आफूलाई जबर्जस्ती बलात्कार गरेको उजुरी दिएपछि मध्यपुरथिमि नगरपालिका–९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।

माघ ४ गते आफ्नै पतिले जबर्जस्ती बलात्कार गरेको भन्दै श्रीमतीले माघ ६ गते जोहेरी दिएकी थिइन् । सोही दिन प्रसूति गृह थापाथलीमा महिलाको स्वास्थ्य परीक्षण गरी खड्कालाई पक्राउ गरेको केसीले जानकारी दिए । वैवाहिक बलात्कार ऐनअन्तर्गत मुद्दा चलाएर घटनाको थप अनुसन्धान जारी राखेको प्रनाउ केसीले जानकारी दिए ।

भक्तपुरमा वैवाहिक बलात्कारको घटनामा उजुरी आएको यो दोस्रो घटना भएको प्रहरी उपरीक्षक हिमालय केसीले जानकारी दिए । उनका अनुसार गत जेठ २३ गते सूर्यविनायक नगरपालिका–७ स्थित ३४ वर्षीया पत्नीले आफ्नो शारीरिक र मानसिक अवस्था ठीक नभएको अवस्थामा समेत ०७३ भदौदेखि ०७४ साल चैत २ गतेसम्म पतिले पटक पटक बलात्कार गरेको जाहेरी दिएकी थिइन् । पति उदयपुर त्रियुगा नगरपालिका–१ का ४२ वर्षीय विशाल भन्ने तेजप्रसाद खतिवडाले बलात्कार गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरे पनि हालसम्म फरार छन् ।