लोकतन्त्रवादी पेशागत संघसंगठन डा केसीको समर्थनमा, बिहीबार विशाल प्रदर्शन

काठमाडौं । लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको मागसहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहीबार राजधानीमा विशाल प्रदर्शन गर्ने भएका छन् ।

मंगलबार राजधानीमा भएको पेशागत संगठनका बुद्धिजीविहरुको भेलाले डा केसीले उठाएका मागमा ऐक्यबद्धता जनाउँदै बिहीबार माइतीघर मण्डलामा संयुक्त प्रदर्शन गर्ने निर्णय गरेका हुन् ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले १ बजे माइतीघर मण्डलाबाट प्रदर्शन सुरु हुने र उक्त प्रर्दशन बानेश्वरमा पुगेर सभामा परिणत हुने बताए ।

उनका अनुसार प्रदर्शन केसीको मागमा ऐक्यबद्धतासहित निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण, वाइडबडी घोटाला प्रकरण, बढ्दो महँगी, हत्या हिंसा तथा भ्रष्टाचार सहितका मुद्दामा केन्द्रित रहने छ । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रदर्शनमा लोकतन्त्रवादी सबै पेशागत संघ संगठनको सहभागीता रहने जानकारी दिए ।

मंगलबारको भेलामा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केसी सहित, सेन्टर फर डेमोक्रेटिक इन्जिनियरर्सका अध्यक्ष लक्ष्मण केसी, डेमोक्रेटिक लयर्स एसोसियसनका अध्यक्ष योगेन्द्र अधिकारी, नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र पौडेल, डेमोक्रेटिक एग्रिकल्चर एसोसियसनका अध्यक्ष सुर्य पौडेल, त्रिवी प्रजातन्त्रवादी कर्मचारी संघका अध्यक्ष भोला सिग्देल, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिना सहितका बुद्धिजीविहरु सहभागी थिए ।