रामलालकी ‘सखी’ माथि पाल्पामा विमर्श

पाल्पा । मनद पुरस्कार विजेता लेखक रामलाल जोशीको पछिल्लो कृति सखीमाथि पाल्पामा विमर्श गरिएको छ । त्रिमुर्ति निकेतन लुम्बिनी अञ्चल र पाल्पा जिल्ला समितिको आयोजनामा लेखक जोशीको पहिलो उपन्यास सखीमाथि विमर्श तथा अन्तरक्रिया भएको हो । पाल्पाको धवल पुस्तकालय तानसेनमा मंगलबार सप्पन्न विमर्श कार्यक्रममा लेखक जोशी प्रकाशक संस्था बुकहिलका सञ्चालक भुपेन्द्र खडका सहभागी थिए ।

त्रिमुर्ति निकेतन लुम्बिनी अन्चल संयोजक मन गहिरेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार चोलेश्वर शर्मा थिए । त्रिर्मुर्तिनिकेतन पाल्पाकी अध्यक्ष लछिमा ज्ञावलीको संचालनमा चलेको कार्यक्रममा कोषाध्यक्ष जानुका नेपालको स्वागत गरेकी थिइन् ।
सखीमाथि समीक्षा डा शंकर गैरेले गरेका थिए । कार्यक्रममा सखीको पात्र, प्रवृति, कथा, विषय र समय उठानमाथि गहन बहस भएको थियो ।

सहभागीहरुले सखीले एक समयको क्रुर कथा, भयावह अवस्था र मानव सभ्यताभित्रको कमलरीजस्तो निर्दयी प्रथाको दुरुस्त अनुहार उतारेको बताएका थिए । आजको सम्भ्रान्त र आधुनिक युगमा कालापानीको विदिर्ण चित्रलाई दुरुस्त उतारेकोमा प्रसंसा समेत गरिएको थियो ।