चितवनमा छब्बीस जनामा डेङ्गु

चितवन। जिल्लामा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । यस अवधिमा एक हजार ३७० को डेङ्गु परीक्षण गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक रामकुमार केसीका अनुसार डेङ्गु देखिएकामध्ये ११ जना चितवनका छन् । अन्य छिमेकी जिल्लाको रहेको उनले बताए । मुख्यरुपमा साउन, भदौ, असोजमा डेङ्गुको सङ्क्रमण हुने गर्दछ । गत आर्थिक वर्षमा ५९ मा डेङ्गु देखा परेको थियो । जसमध्ये ३२ चितवनका रहेको केसीले जनाकारी दिए ।

गत वर्ष हेटौँडा घर भएका एक जनाको चितवनमा उपचारका क्रममा डेङ्गुका कारण मृत्यु भएको थियो । आठ वर्षअघि जिल्लामा डेङ्गु सङ्क्रमणका रुपमा फैलिएको थियो । केसीका अनुसार सन् २०१० मा ७३९ मा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । जसमध्ये पाँचको मृत्यु भएको थियो । त्यसपछिका वर्षमा क्रमश सङ्क्रमण घट्दै आएको छ ।