‘होलसेलमा सहिद : असलीको अपमान’

अक्षर टिप्पणी

O आलोक अविनाशी

१०४ वर्ष लामो राणाहरूको निरंकुश जहानिया शासनकालमा बिरोध गर्ने हिम्मत कस्मा ? तर युगले सपुत जन्माउँछ । राणाविरुद्धको जनमात सिर्जना गर्न त्यो युगमा पनि चार जना सपुत जन्मिए ।

विक्रम संवत १९९७ मा राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई हक र अधिकारका लागि क्रान्ति गर्न प्ररित गरे । त्यो प्रेरणा जगाउने सपुतहरूमा थिए शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ । संघर्षमय जीवन र बलिदानको गाथा बोकेर उनीहरूनेपाली इतिहासमा युगौँ अमर छन् ।

जनतालाई रैती सम्झेर दमन, शोषण मात्र होइन क्रुर शासन सञ्चालनका विरुद्ध क्रान्तिको आगो सल्काइयो । त्यो आगो यति भयंकर बन्यो कि वीर शहीदहरू हासीहासी बली चढे अनि देशले आजादी पायो । आम नेपालीले स्वतन्त्रता पाए र हामी रैतीबाट जनता बन्यौँ । हो त्यही दिन हो माघ– १६ ।

बिडम्बना त्यही रगतको मुलबाट उदाएको पवित्र पर्वलाई दुईतिहाइको दम्भले ‘होस गुमाएको’ वर्तमान सरकाले भने वेवास्था गर्यो । तर जग हसाउने काममा भने नेपालका कम्युस्टि शासकहरू जहिल्यै अगाडि देखिए ।

निरंकुश जहानियाँ राणा शासनविरूद्ध आवाज उठाएवाफत वि.सं. १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरियो । माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा झुन्ड्याइयो । माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा लगेर गोली हानी निर्ममतापूर्वक हत्या गरिएको इतिहास छ ।

स्वतन्त्रताका लागि हासी हासी ज्यानको बली दिने तिनै महान चार सपुतलाई सम्झने समयका रुपमा माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ वर्षौँदेखि मनाइँदै आएको छ ।

देशभर विदा दिएर आम जनताले स्वतन्त्रताका ती मुर्तीहरूमा पूजा गर्ने परम्परा यसपटक आएर केपी शर्मा ओली नेतृत्वको सरकारले विदा समेत कटौती गरेर वास्तविक सहिदको अपमान गरेको छ । प्रदेश ३ ले माघ १६ गने दिएको सार्वजनिक बिदामा समेत केन्द्रको अधिकार प्रयोग गर्दै ओली सरकारले कटौति गरेर असली सहितप्रति हेयको व्यवहार गरेको छ ।

तर, त्यही ओली सरकारले ‘भए नभएका’ नामहरूलाई ल्याएर सहिद घोषणा गर्ने काम गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले करिब दुई हजार जनालाई सहिदको सूचीमा चढाउने हिम्मत गरेको कुरा उनले आफै सशस्त्र प्रहरीको १८ औँ वार्षिकोत्सवमा जानकारी गराए । माओवादी द्वन्द्वका क्रममा मारिएका सेना, प्रहरी र सशस्त्र प्रहरीलाई सहिदको सूचीमा चढाएर ओली ‘महान काम गरेको’शैलीमा कार्यक्रममा प्रस्तुत भए । तर जसको त्याग, बलिदानी, उत्सर्गले आज हामी स्वतन्त्रताको स्वास फेरिरहेका छौँ, आजादीको गीत गाइरहेका छौँ, जसले निर्माण गरेको स्वतन्त्र राजनीतिक मैदानमा ओली ‘सत्ताको गोल’ गरिरहेका छन्, उनीहरूको श्रद्धापूर्वक सम्झना गर्नेसम्म हिम्मत ओली सरकारले देखाएन ।

आफ्नो सत्ता टिकाउन र केही दिन भए पनि ‘खै केको न्यानो’ अनुभूत गर्न तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०६५ पुस ९ गते ६ हजार ३४४ जना युद्धमा मारिएकालाई सहिदको सूचीमा चढाए । त्यसपछि एमालेबाट प्रधानमन्त्री बनेका माधवकुमार नेपालले २०६७ साल असारमा १ हजार ६२६ जनालाई सहिदको सूचीमा राखे । १० वर्षे द्वन्द्वमा मारिएकालाई एक अर्ब ६१ करोडभन्दा बढी रकम सहिदको नाममा बाँडियो । हुँदा हुँदा लेनदेनको हिसाब नमिलेका कारण मारिएका निर्माण व्यवसायी शरद गौचनलाई पनि सहिद घोषणा गरेर कहीँ नभएको जात्रा नेपालमा देखाइयो ।

सहिद को भएन ? एकमुस्ट हजारौँ सहिद घोषणा हुने क्रममा कुकुरले टोकेर मृत्युभएकादेखि रक्सीको झोँकमा बोतलले हिर्काएर मरेकासम्म सहिद भए । र लाग्छ २००७ सालमा प्रजातन्त्र ल्याउन हासीहासी ज्यान अर्पण गरेकाहरू आम जनताको स्वतन्त्रताका लागि आफ्नै बलिदानी दिएकाहरू यतिबेला रोइरहेका होलान ! तर राज्य र राज्य संचालकहरू आफू टिक्न तथा सत्ता लम्ब्याउन इतिहासमा योगदान गर्नेहरूको अपमान गर्न उद्धत छन् । भनिन्छ इतिहासको हिसाब किताब राख्न नसक्नेको हिसाब समयले राख्नेछ । त्यो समय आउला तर त्यसबेला पछुताउनुको विकल्प हुनेछैन ।