वर्तमान सरकारले झिँगा पनि मार्न सकेनः साउद

कञ्चनपुर । रेल, मोनोरेलदेखि पानी जहाजको सपना बाँडे पनि वर्तमान सरकारले यथार्थमा झिँगा पनि मार्न नसकेको नेपाली काँग्रेसका नेता एनपी साउदले बताएका छन् । दुईतीहाईको दम्भले केपी ओली नेतृत्वको वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप पनि नेता साउदले लगाए ।

पार्टीको केन्द्रीय निर्देशनअनुसार सोमबार देशभर सरकार बिरुद्धको बिरोध प्रदर्शनमा कञ्चनपुरको बिरोधसभालाई सम्बोधन गर्न पुगेका केन्द्रीय सदस्य साउदले अब सम्पूर्ण काँग्रेसी एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘निरंकुश राणा, तानाशाही शासन त फाल्यौँ, अधिनायकवादी शैलीको यो सरकार फाल्नु कुनै ठूलो पहाड होइन ।’

महङ्गी, बढ्दो भ्रष्टाचार, निर्मला पन्तको न्याय लगायतका बिषयमा काँग्रेसले सोमबार देशभर गरेको प्रदर्शनका क्रममा कञ्चनपुरमा भएको बिरोध सभापछि नेता साउँद छोरीको न्यायका लागि अनशनरत स्वर्गीय निर्मला पन्तका आमा बुवालाई भेट्न अनसनस्थल पुगेका थिए ।

महेन्द्रनगरमा भएको बिरोधसभामा काँग्रेस नेता तथा पूर्व मन्त्री रमेश लेखक पनि उपस्थित भएका थिए । उनले वर्तमान सरकारको कार्यशैली आम जनतामाझ बदनाम भएको जिकिर गरे ।

यता सरकारको बिरोधमा धनगढी पार्कमोडमा बिरोधसभा भएको थियो । सभालाई सुदूरपश्चिम प्रदेश सभामा काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले सम्बोधन गरेका थिए । उनले कम्युनिस्ट शासनमा बलात्कार, हत्या, हिंसा, भ्रष्टाचार र अनैनिक क्रियाकलाप बढेको बताए ।

त्यस्तै सोमबार नेपालगन्ज, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, बुटवल, बिराटनगरलगायतका क्षेत्रमा काँग्रेसले विशाल बिरोधसभा सम्पन्न गरेको छ ।