नेविसंघले तोड्यो निशेधित क्षेत्र, अध्यक्ष महरसहित विद्यार्थी नेता पक्राउ

काठमाडौं । दुईतीहाई सहितको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघ र सुरक्षाकर्मीबीच झडप भएको छ । मंगलबार दिउसो राजधानीको मीनभवनमा भएको झडपमा कैयौँ विद्यार्थी नेता घाइते भएका छन् भने नेविसंघका अध्यक्ष नैनसिंह महरसहित ११ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

सरकारले सरकारी गाडी जलाएको भन्दै नेविसंघ कास्की जिल्लाका नेताहरुलाई झूटा मुद्दा लगाएको बिरोधमा उत्रिएका संघका अध्यक्ष महर, उपाध्यक्ष नवीन राईलगायत ११ जनालाई पक्राउ गरिएको हो । उनीहरूलाई नेपाल प्रहरी क्लबमा राखिएको छ ।

नेपाल विद्यार्थी संघले आज देशभरका जिल्ला प्रशासन कार्यालग अगाडि बिरोध प्रदर्शन गरेको नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाहीले बताए । काठमाडौंको मीनभवनमा भेला भएर जुलुस निकाल्दै जिल्ला प्रशासन कार्यालय बबरमहलतिर जाँदै गर्दा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले नेविसंघको शान्पिूर्ण जुलुसमाथि आक्रमण गरेको नेविसंघ नेता पुष्पकुमार शाहीले बताए ।