बुटवलमा हरेक वडामा हरियाली पार्क

रुपन्देही । बुटवल उपमहानगरपालिकाले हरेक वडामा हरियाली पार्क निर्माण गर्ने भएको छ । नगरले ‘एक वडा एक हरियाली पार्क’ योजना ल्याएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले नगरका १९ वटै वडामा हरियाली पार्क निर्माण गर्ने योजना उपमहानगरले ल्याएको बताइएको छ । वडामा भएका पार्कलाई व्यवस्थित गर्ने र नभएका स्थानमा हरियाली पार्क निर्माण गर्ने काम शुरु भएको उपमहानगरपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षमा पार्क निर्माणका लागि एक करोड १२ लाख छुट्याइएको उपमहानगरपालिकाका पर्यटन प्रवद्र्धन शाखा अधिकृत कल्पना अर्यालले जानकारी दिइन् । प्रदेश सरकारसँगको सहकार्यमा हिलपार्क, रामापिथेकर्स पार्क र मणिमुकुन्द पार्क व्यवस्थापनका लागि एक करोड २५ लाख विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाका अनुसार सहरी सौन्दर्यकरणका लागि राजमार्ग छेउछाउमा फूलबारी निर्माण गरी शहरलाई थप सौन्दर्यकरण गर्ने काम हुनेछ । हरियाली व्यवस्थापन, सौन्दर्यकरण र वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिएर काम गरिने शाखा अधिकृत अर्यालले बताइन् ।