डिपिएल विजेतालाई ३० लाख पुरस्कार

काठमाडौं । माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको विजेताले ३० लाख पुरस्कार पाउने छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिए ।

उनले प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको जनाउँदै प्रतियोगिताको कूल पुरस्कार राशि ६० लाख रहेको बताए । त्यसमा विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले चार लाख तथा चौथो हुने टोलीले दुई लाख पाउनेछन् ।

आयोजकका अनुसार मैदान तथा प्राविधिक व्यवस्थापनको काम लगभग सकिएको छ । “मैदान तथा पाँचवटा पिच निर्माण सम्पन्न भइसकेको छ । प्रतियोगिता आयोजनाका विभिन्न समितिले पनि आआफ्ना जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन्”, उनले भने ।

“क्रिकेटलाई अझ योजनाबद्ध र व्यावसायिक हिसाबले लैजान धनगढी क्रिकेट एकेडेमी (डिसिए) जहिल्यै नयाँ योजनाका साथ आउने गरेको छ, सोही परिवेशमा शहर केन्द्रीत ‘फ्रेन्चाइज’ सोचको क्रिकेटलाई थप परिस्कृतरूपमा अगाडि बढाइरहेका छौँ ।”

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट मान्यता प्राप्त प्रतियोगिता डिपिएल–३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किङ्ग्सको सहभागिता हुनेछन् । सबै टोलीमा १२ ‘अक्सन’बाट लिइएका खेलाडी (स्थानीयसहित), एक रणनीतिक खेलाडी र दुईजना विदेशी खेलाडी रहने छन् ।

प्रतियोगिताको ‘गुडविल एम्बास्डर’मा दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्स रहेका छन् । रोड्स माघ २४ गते धनगढी आइपुग्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युएवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिइनेछ । प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सिरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिता सम्पन्न गर्न पाँच करोड खर्च हुने आयोजकको अनुमान छ । पहिलो संस्करणको डिपिएलको बजेट एक करोड ८२ लाख थियो भने कूल पुरस्कार २८ लाख ५० हजार थियो । यस्तै दोस्रो संस्करणमा तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाखसहित कुल ५० लाख पुरस्कार प्रदान गरिएको थियो ।