भक्तपुरमा ‘मन मगन’ एकल गायन

भक्तपुर । लोकप्रिय गायक दीपक बज्राचार्यको वृहत एकल गायन हुने भएको छ । उनको गीत ‘मन मगन‘’ लाई शीर्षक राखेर रश लाइट मिडियाले ‘मन मगन यात्रा’ आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाले विज्ञप्ती जारी गर्दै माघ २६ अर्थात शनिवारका दिन दिउँसो साढे १२ बजेदेखि साँझ ८ बजेसम्म कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाकी रमिता भण्डारीले जानकारी दिइन् ।

‘कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा संगीत’ भन्ने नारासहित कार्यक्रम हुन लागेको हो । गायक दीपक बज्राचार्यलाई उनको म्युजिकल ब्याण्ड रिदमले साथ दिनेछ ।

आयोजक संस्थाकी अध्यक्ष भण्डारीका अनुसार मन मगन भक्तपुरसंगै देशका प्रमुख शहरहरुमा समेत आयोजना गरिने छ । स्वदेशका प्रमुख शहरमा आयोजना हुने ‘मन मगन’ यात्रापछि यसलाई विदेशमा पनि प्रस्तुत गरिने उनले बताइन् । अध्यक्ष रमिता आफै पनि मोडेल, गायिका र कोरियोग्राफर हुन् । कार्यक्रममा विभिन्न फेसन सो समेत गरिने छ ।