विदेशी पर्यटक लोभ्याउन सकेन शुक्लाफाँटाले

भीमदत्तनगर । वन्यजन्तुदेखि सीमसार क्षेत्रसम्मको जैविक विविधताले भरिपूर्ण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अझै बाह्य पर्यटकको गन्तव्य बन्न सकेको छैन ।

विगतभन्दा केही वर्षयता घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि प्रसार÷प्रसारको अभावमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्य पर्यटकको गन्तव्य बन्न नसकेको हो । शुक्लाफाँटाभित्रको विविधता अन्तर्राष्ट्रियस्तरमा चिनाउन नसक्दा यहाँ भरपूर पर्यटक ल्याउन सकिएको छैन ।

थोरै क्षेत्रफलमा धेरै पाटेबाघ, विश्वमै दुर्लभ बाह्रसिङ्गाको विशाल झुण्ड, दुर्लभ एकसिङ्गे गैँडा र हात्तीको लस्करका साथै ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गीको वासस्थान रहेको शुक्लाफाँटामा भौगोलिक कारणले पनि पर्यटक काम आउने गरेको बुझाइ छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेलले मुलुकका अन्य पर्यटकीय क्षेत्रमा आउने पर्यटकलाई शुक्लाफाटा ल्याउनका लागि समन्वयको अभाव रहेको बताए । ‘यस्तो विविधता रहेको निकुञ्जमा पनि यसप्रकारका हेर्नलायक ठाउँ र वन्यजन्तु छन् भनेर पर्यटकलाई काठमाडौँमा जानकारी दिन सके फलदायी हुन्छ’, उनले भने, ‘प्रचारप्रसारसंगै यहाँ होटल व्यवसायको विकास पनि आवश्यक देखिन्छ ।’

सीमसार क्षेत्र र निकुञ्जभित्र ऐतिहासिकस्थल समेत रहेको शुक्लाफाँटासँगै जोडिएका दुई वटा होमस्टे र एउटा रिसोर्ट छन् । वार्षिक तीन हजारको सङ्ख्यामा यहाँ आन्तरिक तथा बाह्य पर्यटक भ्रमणका लागि आएको निकुञ्ज कार्यालयले जनाएको छ । महाकाली नदीमा निर्माणाधीन पक्की पुल बनेमा भारतलगायत तेस्रो मुलुकबाट यहाँ पर्यटकको आवागमन बढ्ने आशा गरिएको छ ।

शुक्लाफाँटा निकुञ्जभित्र ५४ वर्ग किलोमिटरमा फैलिएको घाँसे मैदानमा दुर्लभ बाह्रसिङ्गेको झुण्ड यहाँको मुख्य आकर्षक भएको निकुञ्ज कार्यालयको भनाइ छ ।

विसं २०३१ मा स्थापना भएको निकुञ्जको सुरक्षाका लागि नेपाली सेनाको देवीदल गण खटिएको छ । गणले पनि वन्यजन्तु संरक्षणका लागि केही महीनाअघि देखि विशेष कार्यक्रम सञ्चालन गरेको छ ।

शुक्लाफाँटा निकुञ्जसंगै यहाँको महाकाली नदीमा अवस्थित एशियाकै लामो झोलुङ्गे पुल, झिलमिला ताल, बेदकोट ताल, लिङ्गालगायतका पर्यटकीय क्षेत्र छन् । यहाँको बेदकोट नगरपालिकाले पर्यटीय क्षेत्रको विकास एवं विस्तारका लागि गुरुयोजनासहित अघि बढेको नगरप्रमुख अशोककुमार चन्दले बताए । त्यसैगरी भीमदत्तनगरपालिकाको उत्तरमा रहेका झिलमिला धार्मिक क्षेत्रको विकासमा पनि भीमदत्तनगरपालिका सक्रियताका साथ लागेको छ । झिलमिलासम्म जाने सडक कालोपत्र गर्ने कार्य भइरहेको भीमदत्त नगरपालिकाले जनाएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घले लामो समयदेखि यहाँको पर्यटकीय क्षेत्रको पहिचान र विस्तारका लागि कार्य गरिरहेको सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले जानकारी दिए ।

रासस