तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरवः राष्ट्रपति भण्डारी

धरान । राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको वराहक्षेत्रको प्राचीन हरिद्वार चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञको उद्घाटन गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार दिउँसो रामानन्द सेवापीठले निर्माण गरेका १२८ कोठे नव निर्मित श्रीराम निकेतन, लक्ष्मण निलियम र जानकी सदनको समेत उद्घाटन गरिन ।

महायज्ञको उद्घाटन कार्यक्रममा उनले नेपालमा पहिलो पटक भएको तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव भएको बताइन् । उनले बराहक्षेत्र मुलुकै उत्कृष्ट धार्मिक गन्तव्य भएको र रामनन्द सेवापीठको सक्रियतामा भएको महायज्ञ कार्यक्रमले यहाँको गरिमा बढाएको समेत बताइन् । ‘यहाँ जडिबुटी प्रशोधन केन्द्र बनाएर नेपाललाई चाहिने औषधी आफैँ बनाउन सकिन्छ’, राष्ट्रपति भण्डारीले भनिन् ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बराहक्षेत्र प्रदेश नं १ को प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भएकोले यसका लागि प्रदेश सरकारले पनि लगानी गर्न लागेको बताए । महायज्ञमा शुक्रबार नै भारतको अयोध्या र उत्तरकाशी लगायतका स्थानबाट सात जना जगद्गुरु, पीठाधीस र महामण्डलेश्वर चतराधाम आएको आयोजनकले जनाएको छ । १४ करोडको लागतमा आयोजना भइरहेको महायज्ञको समापन यज्ञ पूर्णहुति फागुन ७ गते हुने जनाइएको छ ।