आँखा शिविरमा साढे तीन सयलाई सेवा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा शनिबार आयोजित एकदिने आँखा शिविरबाट ३४६ जनाले सेवा लिएका छन् ।

वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको शिविरमा गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा प्रमोद अधिकारी र नेत्र अधिकृत वीर सिंह धामीले सेवासँगै प्राविधिक सहयोग गरेका थिए ।

शिविरमा आँखा जाँचका लागि पुगेकामध्ये ३० जनामा मोतिया विन्दुको समस्या देखापरेको नेत्र अधिकृत धामीले बताए । मोतिया विन्दु भएका बिरामीको आइतबार गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था गरिएको उनले बताए ।

उनका अनुसार दुई जनामा आँखाभित्रको नशा फुलेको पाइएकाले उपचारका लागि अस्पतालमा जान सल्लाह दिइएको छ ।

आँखा शिविरबाट सेवा लिनेमा ९० प्रतिशत दलित र बाँकी अन्य समुदायका व्यक्ति रहेका थिए । शिविर सञ्चालनका लागि एक लाख ५० हजार रकम खर्च लागेको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए ।