धनगढी प्रिमियर लिगको उद्घाटन, खेल सोमबारदेखि हुने

काठमाडौं । शनिबार धनगढीमा धनगढी प्रिमियर लिग तेस्रो संस्करणको उद्घाटन भएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको धनगढीमा उद्घाटन गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले लिगको तेस्रो संस्करणको उद्घाटन गरेका हुन् ।

बर्षाका कारण प्रतियोगिता उद्घाटन भएपनि खेल भने सोमबारदेखि मात्रै सुरु हुने भएका छन् । लगातारको बर्षाले फाप्ला मैदान हिलाम्मे भएपछि खेल दुई दिन सारिएको हो । दुई दिन खेल सारेसँगै नयाँ खेल तालिका पनि निकालिएको छ । सोमबारदेखि दैनिक दुई वटा खेल हुनेछन । पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन् । दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर यूनाइटेड खेल्नेछन् ।

डीपीएलको पुरस्कार राशीमा यसपटक वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ३० लाख नगद पुरस्कार पाउने भएको छ । उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । टी –२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।

प्रदेश सरकारको प्रतिवद्धता

डिपिएलको उद्घाटन गर्दै सुदूरपश्चिम सरकारले लिग र फाप्लाका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगितालाई र फाप्लालाई अन्तर्राष्ट्रिय मैदान बनाउनका लागि प्रदेश सरकार गम्भीर भएको भन्दै यसलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि बढाउने बताए ।