राजीनामा दिँदै नेविसंघ अध्यक्ष महर

काठमाडौं । नेपाली काँग्रेसको नर्शरी अर्थात भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर पदबाट राजीनामा दिने भएका छन । नेविसंघको विषयलाई लिएर पार्टीमा अन्योल बढिरहेकाले राजीनामा दिने मनस्थितिमा आफू पुगेको उनले बताए ।

‘महासमिति बैठकबाट एक भएर अघि बढ्न खोजको पार्टी, नेविसंघको विषयलाई लिएर विवादमा तानिएकाले पार्टीको सहजताका लागि राजीनामा दिने’ मनस्थितिमा पुगेको उनको भनाइ छ । । पछिल्लोपटक महरलाई ‘चाहनेवाला’ र ‘नरुचाउनेहरु’ दुबैपक्षबाट ‘प्रेसर’ आइरहेकाले पनि उनी राजीनामाको मनस्थितिमा पुगेको बताइन्छ । अध्यक्ष महरले अहिले केही बेरमा पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने तयारी गरेको अक्षरपाटीसँग बताए ।

नेविसंघको महाधिवेशन र स्ववियू निर्वाचनका लागि आफूले पटकपटक तयारी गरेर कतिपय जिल्ला, पालिका र शैक्षिक संस्थामा अधिवेशन सम्पन्न गरे पनि महाधिवेशन गर्ने वातावरण नभएको, आफ्नो समय पनि सकिएको, उमेरले पनि अब नेविसंघमा रहिरहन आकर्षक नहुने भएकाले राजीनामा दिएर मार्ग प्रसस्त गरिदिने मुडमा आफू पुगेको महरको भनाइ छ । आफ्ना कारणले महासमिति बैढकपछि एक भएर हिंड्न खोजको पार्टीमा कलह नहोस भन्ने मनसाय उनको  छ ।

नेविसंघको विधान संशोधन गरेर थपिएको पाँच महिनाका समयावधी माघ २ गते पूरा भैसकेको छ । पार्टीले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिले गर्ने निर्णय बमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखेको थियो । माघ १० गते सुरु भएको बैठकको निरन्तरता स्वरुप सोमबार पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ ।