नाफामा जाँदै सरकारी अस्पतालका फार्मेसी

लमही । सरकारी अस्पतालमा सञ्चालित फार्मेसी नाफामा जान थालेका छन् । दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल (साविक अञ्चल अस्पताल) मा सञ्चालनमा ल्याइएको फार्मेसीले चालू आर्थिक वर्षको छ महीनामा साढे सात लाख भन्दाबढी आम्दानी गर्न सफल भएको छ ।

स्पतालका फार्मेसी इन्चार्ज सुलभ अधिकारीका अनुसार चालू आर्थिक वर्षको पुससम्म सात लाख ५६ हजार १७८ नाफा कमाउन सफल भएको छ । कर्मचारीको तलब, अन्य खर्च कटाएर उक्त नाफा गर्न सफल भएको अधिकारीको भनाइ छ ।

चालू आवको छ महीनामा बिरामीलाई आठ लाख ६६ हजार ८४० छुट प्रदान गरिएको छ । सबै सरकारी अस्पतालमा फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएपनि राप्ती प्रादेशिक अस्पतालमा पनि २०७३ माघमा सञ्चालनमा आएको हो । अस्पतालमा फार्मेसी सञ्चालन भएदेखि अहिलेसम्म करीब १४ लाख ४३ हजार ३८८ बचत रहेको उनको भनाइ छ । फार्मेसी सञ्चालनमा आएदेखि अहिलेसम्म ३६ लाखभन्दा बढी बराबर बिरामीलाई छुट दिइसकेको उनको भनाइ छ ।

अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन भएपछि आम्दानीको राम्रो स्रोत बन्ने गरेको उनको भनाइ छ । उनका अनुसार औषधिको प्रकारअनुसार पाँचदेखि ५० प्रतिशतसम्म छुट पाउने गरेका छन् । अहिले फार्मेसीमा करीब ९०० प्रकारका औषधि उपलब्ध रहेको अधिकारीको भनाइ छ ।