रामलालकृत सखीले भन्छः प्रेमको आनन्द जीवन जत्तिकै लामो हुन्छ, सेक्सको आनन्द मृत्यु जत्तिकै छोटो

–खिम लामिछने ‘काजि’

२०५१/५२ बाट कविता र गजल विधामा कलम चलाउदै साहित्यमा प्रवेश गरेका लेखक रामलाल जोशीको पहिलो कृति ‘हत्केलामा अकाश’ गजल संग्रह २०५७ मा प्रकाशित भयो । २०७२ सालमा जोशीको दोस्रो कृति भने कथाका रुपमा आयो– ‘ऐना’। जसमा उनले सुदूरपश्चिमको सामाजिक पीडा, वादी र थारु जातिको पीडा बेदनालाई चित्रण गरेका थिय । ऐनाले २०७२ सालको मदन पुरस्कार जित्न सफल भयो ।

हालसालै उनको ‘सखी’ उपन्यास प्रकाशित भएको छ । सुदूरपश्चिमको जनजीवन र संस्कृतिलाई चित्रण गरिएको उक्त कृतिले थारु समुदायका यथार्य कुराहरुलाई समेटी उनीहरुको अवस्थालाई समाबेश गरेका छन । पहाडिया समुदायको विभेद, थारु समुदायमा पनि हुने खानेहरुले गरीब थारुमाथि गर्ने विभेद र अत्याचार लगाएर थारु सँस्कृतिका बिभिन्न आयामलाई सखीमा देखाइएको छन ।

आफ्नो नविनतम कृतिबारे लेखक राललान जोशी भन्छन्– ‘सखी’ एउटा थारु कम्लारी केटीको संघर्षको गाथा हो । सभ्य, संघर्षशील जीवन बाँचीरहेको सिंगो थारु समूदायका जीवनको चित्रण हो । मैले ‘सखी’ लेख्ने बेला त्यहाँको समाजका पुगेर, अनुसन्धान गरेरै लेखेको छु । त्यसकारण त्यहाँको यथार्थ जनजीवन मेरो उपन्यासमा आएको छ।’

सखीमा पहाडबाट तराई झरेर त्यहाँको रैथाने समुदायसँग घुलमिल भएको एक युवकको कथा समेटिएको छ । जोशीले आदिम संस्कृति धानेका थारु समुदाय, जो आफ्नो माटोलाई पुजा गरेर माटोमै संघर्ष गरेका धर्तिपुत्रको कथाले आफूलाई छोएको र त्यसैलाई ‘सखी’मार्फत् बाहिर ल्याउने प्रयास गरेको बताए । यो समुदाय जमिनदारको रबैयाले कसरी कमैया, कमलरी हुन पुग्थे ? थारु केटीहरूले कस्तोसम्म दुःख पाउछन ? कसरी कमैया मुक्ति आन्दोलनको उठान कसरी भयो ? माओबादीहरुले कसरी थारु समुदायलाई आफ्नो पकडमा लिए भन्ने जस्ता राजनैतीक द्वन्दका कुराहरु समेत लेखकले समाबेश गरेका छन ।

उपन्यासकी मुख्य पात्र थारु समुदायको कमलरी केटी किस्मती चौधरी हो । जसको वरिपरि पूरै उपन्यास घुमेको छ । गाउँमा जमिनदार तथा धनीमानी ब्यक्तीहरुले कस्तो रबैया अपनाउँथे भन्ने कुराको चित्रण सुन्दर ढंगबाट प्रुस्तुत गरिएको छ । विषालु च्याउ खाँदाखेरि उसको बुवाबाहेक पूरै परिवार मर्छन् । बुढेसकालमा उसको बुवाले दोस्रो विवाह गर्छ । अनि कान्छीबाट किस्मतीको जन्म हुन्छ । छोरी जन्मिँदा पालनपोषण गर्न नसक्दा उसको बुवाले चौबाटोमा छोडेको हुन्छ । पछि एक जना मुसलमानले भेटाउँछ । मुसलमानबाट १ जना पहाडी समुदायका व्यक्तिले किनेर लगेर आफ्नो घरमा लगेर कमलरी बनाउँछ । मुलुकमा भएको बाधा कमरा, कमैया, हरिया, कमलरी राख्ने, किन्ने प्रचलन बारे यो उपन्यासमा समाबेश गरिएको छ ।

र अन्त्यमा एक कमालरी कसरी सामाजिक अभियन्ताको रुपमा उदाउँछिन र समाज सेबी बनेर कसरी सर्वोत्कृष्ट पुरस्कारले सम्मानित हुन्छिन भन्ने भन्ने कुरालाई बढो रोचन र सनसनीपूर्ण ढंगबाट उपन्यासमा दर्शाइएको छन । पढ्दै गर्दा यो कृति सिर्फ एक उपन्यास हो, पात्रहरु काल्पनिक हुन जस्तो कत्ति पनि लाग्दैन । शायद यो सत्यकथामा आधारित भएर लेखिएकोले होला ।

लेखक रामलाल जोशीले सखीलाई सक्कली जिन्दगीकै कथा भनेका छन । चोट, बिछोड, दुःख, बेदना र आँसुले जसरी जिन्दगीलाई सक्कली बनाइ दिएको छ । जीवनमा बनेका तिनै खिलहरुलै निचोर्दा यो सक्कली जीवन कथा बनेको छ । सखीमा माबोबादी द्वन्द, कमैया र कमलरी आन्दोलनसहित द्वन्द्व र आन्दोलनपछिको अवस्थालार्ई सजीव चित्रण गरिएको छ । आन्दोलनले बिस्थापिन गरेकाहरुको काहानी जोडेका छन । गरीबिको पहाडले थिचिएका थारुलाई माओबादी नेताहरुले कसरी मिलिसिया र लडाकु बनायो ? कसरी उनीहरुले आफ्नै मालिकसँग बिद्रोह गरे ? कसरी उनीहरुको ब्रेनवास गरियो ? जस्ता कुरारुको उजागार गर्न सफल देखिन्छन् लेखक रामलाल ।

थारुहरु कमलरी र कमैया आन्दोलनमा उत्रदा भोकै बस्नु परेको वाध्यता उता जमीन्दारहरुको खेत बाझै हुँदाको बास्तविक अवस्थाको बारेमा उल्लेख गरिएको छ । उनले सखीमा प्रेमका बारेमा निकै मार्मिक शब्दहरु खर्चेका छन । प्रेम मात्रै एउटा यस्तो अचुक औषधी हो, जसको अनुपान र अनुभूतीले संसारमा सुख र आनन्दको बर्षा हुन्छ । लेखकले उपन्यासमा आध्यात्मबादलाई पनि जोडेका छन ।

‘सिर्जनशिल आनन्द केन्द्र’ नाम गरेको आश्रममा सत्सँग र जीवनोपयोगी प्रवचनका कार्यक्रम हुने गर्दछन । सोही कार्यक्रम मार्फत पाठकहरुलाई जीवन र जगतलाई बोध गराउने दर्शनहरु उल्लेख गरेका छन । जसलाई स्वामी तथा बोधीहरुले प्रवचनको रुपमा भनिएको छ, जस्ले जीवनलाई बुझ्न र बाँच्न उत्प्रेरणा जगाउदछ ।

लेखकले यौन कुण्ठा र यौन ब्यबहारको बारेमा पनि कबियत्री मनोरथाको जीवनसँग जोडेर उल्लेख गरेका छन । लामो समय लोग्ने बाट टाढा बस्नुपर्दा आफ्नो यौनिक उद्वेगलाई काबुमा राख्न नसक्दा, उनको परपुरुषसँग परागमन हुनपुग्छ । जसको करणले उनलाई पतित र घोकेबाज उपमा दिँदै समाजमा घृणा, तिरस्कार, अपमान, लान्छना र बहिस्कार गरिन्छ । उमेर, शरीर र समयले ल्याइआएका शारिरिक सम्बेगलाई समन गर्न गरिएका कुनै पनि दैहिक कृयाहरु के कुनै पाप र अपराध हुन ? भन्ने प्रश्न त्यर्स्याउँछन लेखक ।

नारी जातिको बारेमा लेखकले एक प्रबचनकर्ता मार्फत ब्याख्या गरेका छन । एउटा नारी पत्नी हुनसक्छे । प्रियसी हुनसक्छे । परन्तु हजार मनिसहरुकी आमा हुनसक्छे, मात्री हृदया हो नारी । हजार मनिसहरुको साथी हुनसक्छे, सखी हृदया हो नारी । नारी बक्रको लहरा जस्तै लहरिन सक्छे । आकाशबेली जस्तै फैलिन सक्छे । बरको रुख जस्तै झ्याङिन सक्छे । त्यो बिशाल हृदय हो नारी, ममताकी खानी । लेखकले नारीको सम्मानमा शब्दहरुले बिभुशित गरेका छन ।

लेखक गजलकार समेत भएकोले गर्दा होला कतीपय हरफहरु छन्द मिलाएर लेखिएको छन । पढ्दा कबिता पढेको झै भान हुन्छ । यद्यपि कतिपय ठाउँमा कबिता कोरेका छन । सुरुको च्याप्टरहरुमा थारु भाषा मै सम्बादहरु लेखिएको पाइन्छ । त्यसलाई नेपाली भाषामा अनुवाद पनि गरिएको छ । थारु तथा सुदूरपच्चिमतिर बोलिने स्थानीय भाषा र शब्दको प्रयोगले पाठक थारु तथा स्थानीय कला सँस्कृति बुझ्न सहयोग गरेको छ । कबियित्री मनोरथा मार्फत लेखिएको कबिता साह्रै मार्मिक छ ।
‘यहीनेर गर्नुछ तिम्रो बिरताको परीक्षा मैले,
लिनु छ तिम्रो महानताको परीक्षा मैले
यदी तेसो होइन भने सधैं टाङमुनी लुक्न खोज्ने,
तिम्रो लिङ्ग काटेर चढाइदेउ बागेश्वरी मातालाई
म मेरा लुक्न खोज्ने होइन, सधैं बाहिर निस्कन खोज्ने,
एक जोडी उन्नत स्तनहरु तिमीलाई दान दिन तयार छु ।

लेखकले सखीमा दर्शन समेत समाबेश गरेका छन । ‘चोट र बिछोडका कती घाऊहरु छँदै थिय, गीत लेख्न थाले । अधुरा मायाका कथाहरुले घाइते बनाएकै थिए, गजल लेख्न थाले । अभाव, पीडा, दुःखका चाङ छदै थिए, कबिता लेख्न थाले ।’ समयले कसलाई सफल हुन दिदैन र ? संघर्षद्वारा को स्थापित हुन सक्दैन र ? मिहीनेतले कसलाई खुशी बनाउदैन र ? त्यसैगरी प्रेमको बारेमा यसरी भावनाहरु ब्यक्त गरिएको छ,’ फुल कहिल्यै सोधेर भमरमा समर्पित हुन्छ र ? ढुकुरको जोडीले अनुमति लिएर गला मिलाउछ र ? रती बिलासका लागि गाईको जस्तो डुडाउने स्वभाव मान्छेको कहाँ हुन्छ र ? भैंसीको जस्तो कराउने इच्छा मान्छेलाई कहाँ लाग्छ र ? मान्छे त मनहरु मिलाएर चुपचाप समर्पित भईदिन्छ प्रेममा । मनको भाषा कहाँ हुन्छ र ? हृदयको बोली कहाँ हुन्छ र ? मन त एउटा अनुभुती न हो, माया त एउटा अनुभव न हो । प्रेमका लागि बोली कहाँ चाहिन्छ र ? बोली त एउटा आडम्बर न हो । प्रेमका पक्षमा फुल र भमरबाट मान्छेले सिकेको सर्बोत्तम ज्ञान यही हो कि प्रेम भइ दिन्छ चुपचाप, चुपचाप ! म प्रेम गर्छु नभने र नै मान्छे प्रेममा समर्पित भइदिन्छ चुपचाप, चुपचाप !

मान्छेले ठीकठिकै जिन्दगी जिउनु पर्छ बाबै ! इेश्वरले भन्दा बढी खुशी हुन थाल्यो भने त्यो कहाँ सैह्य हुन्छ र इेश्वरलाई ! भगवान माथि चुनौनी बर्जित छ संसारमा भन्दै उनी आफुले अत्यन्त मन पराएकी आफ्नी प्रियासीको बिछोडमा यसरी भावबिहल बनेका छन । सुखमा हजार साथीहरु सँगै हुँदा दुःखमा एक्लै हुनुपर्छ । जब साथ दिन्छु भन्नेहरुले हात छोड्दछन, तब मात्र आफ्न्तीहरुको खोजी हुने गर्दछ । धेरै मान्छेहरु जिन्दगीमा आफ्ना जस्ता लाग्दछन तर थोरै मात्रै साच्चै कै आफ्ना हुन्छन भन्ने ध्रुबसत्य उल्लेख गरिएको छ सखीमा ।

धनी परिवारकी केटी र गरीब परिवारमा जन्मेको केटा बिचको प्रेम यो समाजमा कस्तो होला । ‘उ आकाशकी चन्द्रमा, म घर्तीको धुलो । उ पूर्वको अरुणिमा म पच्चिमको अन्ध्यारो । कहाँ उm पवित्र गंगाको जल, कहाँ म खहरेको भेल । उm चिल्लो कारमा सवार भएर आउने शुकन्या, म सडकको धुलो खाएर आउने फकिर’ के हाम्रो मिलन सम्भव छ र ? उपन्यासको अर्को मुख्य पात्र मानबले सोचेको कुरा ।

यो समाजमा को एक यथार्थ चित्रण । तर लेखको कुरा दार्शनिक ओशो सँग मेल खान्छ । विवाहपछि प्रेमको मृत्यु हुन्छ । विवाह गर्नकोलागि केटीलाई केटा र केटालाई केटी संसारमा खोजेर पाइन्छ । मागेर पाइन्छ । मागेर नै विवाह गर्ने रित पनि छ । तर माया गर्ने मान्छे मागेर पाइँदैन । खोजेर पाइँदैन । त्यसैले माया गर्ने मान्छेलाई सधैं मायालुकै रुपमा रहनदिनुपर्छ । मायालुलाई बिहे गरेपछि त्यो माया नस्ट हुन्छ । विवाहले अनन्तः स्वार्थको साँघुरो घेरामा मान्छेलाई बाँधीदिन्छ । जबकी मायाले बन्धनहरु टुटाउन सिकाउँछ । प्रेमको आनन्द जीवन जत्तिकै लामो हुन्छ तर सेक्सको आनन्द मृत्यु जत्तिकै छोटो । लेखकले सेक्सको बारेमा धेरै शब्दहरु खर्चेका छैनन तर सेक्सलाई कलात्माक ढंगबाट सखीमा प्रस्तुत गरेका भने छन ।

लेखकले थारुहरुको परम्परागत भेषभुषा र सँस्कृतिमा आएको परिवर्तन समेत समाबेश गरेका छन् । थारुका सखिया नाचहरु, घरुका माटोले लिपेर बनाइएका टहराहरु रुपान्तरित भएर थारु भिलेज, थारु कटेज बनिरहेकाबारे समेत उल्लेख गरेका छन् । बर्तमान परीप्रेक्षमा ओरिजिनल थारु बिस्थापित भइ डुब्लीकेट थारु देखिन थालेको यथार्थ चित्रण गरिएको छन ।