गण्डकी प्रदेश सरकारको उदार निर्णय, गर्भवती र सुत्केरीलाई ‘एयर लिफ्टिङ’

पोखरा । गर्भवती र सुत्केरी महिलाको ज्यानै जोखिममा परेको अवस्थामा गण्डकी प्रदेश सरकारले ‘एयर लिफ्टिङ’ गरेर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार पोखरामा बसेको बैठकले सो अवस्थाका महिलालाई अस्पतालसम्म पु¥याउने खर्च सरकारले व्यहोर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

उनका अनुसार गर्भवती र सुत्केरी महिलाको ज्यान बचाउनेसम्बन्धीको कार्यविधिसमेत आजैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । ‘गर्भवती र सुत्केरी महिलालाई जटिलता व्यवस्थापनका लागि सुविधा सम्पन्न अस्तालमा एयरलिफ्ट गर्ने, कार्यविधि’ अनुसार सम्बन्धीत स्वास्थ्य संस्थामा गएका गर्भवती र सुत्केरी महिलालाई थप उपचारका लागि अन्यत्रै पठाउने गरेमा सम्बन्धित स्वास्थ्य संस्थाले प्रदेशस्तरमा गठित सिफारिश समितिलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

‘हामीले जुन उपलब्ध हुन्छ, सोही हेलिकप्टरबाट अस्पतालसम्म उपचारका लागि ल्याउने व्यवस्था गर्छौ’, मन्त्री चुमानले भने, ‘गर्भवती हुनका लागि उपचारको र यातायात अभावका कारण महिलाले ज्यान गुमाउने अवस्थाको अन्त्य गर्नका लागि मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।’