पत्रकार महासंघलाई २३ लाख

पोखरा । गण्डकी प्रदेश सरकारको आज मन्त्रिपरिषद् बसेको बैठकले विभिन्न सङ्घसंस्थालाई आठ वटा शीर्षकमा ८९ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासङ्घको पोखरामा फागुन ९ र १० गते हुने साधारणसभा एवं विधान अधिवेशन सम्पन्न गर्नका लािग प्रदेश सरकारले २३ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

यस्तै नवलपुरस्थित धार्मिक पर्यटकीय क्षेत्र गजेन्द्रमोक्ष धामलाई १० लाख, सहारा एकेडेमी, अन्तर्राष्ट्रिय म्याराथुन दौड र गण्डकी बहिरा सङ्घलाई दुई÷दुई लाख, पोखरा थिएटरलाई १५ लाख र दृष्टिविहीन क्रिकेट खेलाडीलाई सम्मान गर्न पाँच लाख रुपैयाँ दिने निर्णय गरिएको उनले बताए ।

मन्त्रिपरिषद्ले प्रदेशसभा सदस्य स्व टेकबहादुर घर्तीमगरको परिवारलाई १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । बाग्लुङ क्षेत्र नं २ ख का सांसद घर्तीमगर राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य थिए । कलेजोको रोगबाट पीडित घर्तीमगरको गत मङ्सिर २७ गते उपचारका क्रममा दिल्लीको अपोलो अस्पतालमा निधन भएको थियो ।

मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगमा एक जना महिला सदस्य थप्ने निर्णयअनुसार डा भीमा ढुङ्गाना नियुक्त भइन् ।